निःशुल्क शिक्षा र स्वास्थ्य बिना मुलुकको रूपान्तरण सम्भव नभएको भुमिकास्थान नगरप्रमुख थापाको भनाइ

टेकराज भुसाल,पुष ०५अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले नागरिकका लागि शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुन सके मात्र मुलुकको वास्तविक परिवर्तन सम्भव हुने बताउनुभएको छ।
शनिबार भूमिकास्थान नगरपालिका–३ मा अवस्थित अन्नपूर्ण माध्यमिक विद्यालयको ४३औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

नगरप्रमुख थापाले भूमिकास्थान नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरे पनि अपेक्षित प्रतिफल आउन नसकेको स्वीकार गर्दै शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकारसहित सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। देश नै क्रमशः विद्यार्थीविहीन अवस्थामा पुग्न लागेको भन्दै उहाँले गम्भीर चिन्ता समेत व्यक्त गर्नुभयो।

यद्यपि, अन्नपूर्ण माध्यमिक विद्यालयले गत शैक्षिक सत्रको एसइई परीक्षामा सतप्रतिशत नतिजा हासिल गर्न सफल हुनु उपलब्धिमूलक रहेको उल्लेख गर्दै नगरप्रमुख थापाले यस सफलतालाई निरन्तरतामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

“पढ्दै, कमाउँदै, रमाउँदै” भन्ने अवधारणालाई अघि सार्दै नगरपालिकाले भूगोलअनुसार तरकारी खेती, फलफूल खेती, माहुरी पालनलगायतका व्यवहारिक र आयमूलक शैक्षिक क्रियाकलापहरू विभिन्न विद्यालयमा सञ्चालनमा ल्याएको जानकारी पनि उहाँले दिनुभयो।
कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडे, वडा अध्यक्ष कृष्णप्रसाद बन्जाडे, शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा तथा सामाजिक तथा राजनीतिक व्यक्तित्व सागर केसीलगायतले शिक्षा सुधार र सामुदायिक विद्यालयको सुदृढीकरणबारे आ–आफ्ना धारणा राख्नुभएको थियो।
कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण प्रसाद भुसालले विद्यालय स्थापनादेखि हालसम्मको यात्रा, उपलब्धि र चुनौतीबारे प्रकाश पार्दै सबै सरोकारवालाको निरन्तर सहयोगकै कारण विद्यालय आजको अवस्थामा आइपुगेको बताउनुभयो।
शिक्षक सुशील खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुवासचन्द्र बन्जाडेले वार्षिक प्रगति प्रतिवेदन तथा आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।




कमेन्ट गर्नुहोस !