राजनिती खिचातानीले अर्घाखाँचीका ३२ विद्यालय व्यवस्थापन समितीविहिन

लक्ष्मण घिमिरे,अर्घाखाँची ।अर्घाखाँचीका ३२ वटा विद्यालय समितीविहिन रहेका छन् । म्याद सकिएका, प्रक्रियामा रहेका र विवाद भएका ३२ विद्यालयमा विद्यालय व्यवस्थापन समिती गठन हुन सकेको छैन ।
अर्घाखाँचीका ३ सय ८६ सामुदायिक तथा संस्थागत विद्यालयमध्ये ३२ ओटा विद्यालयमा व्यवस्थापन समिती गठन हुन नसकेका हुन् । छत्रदेव गाउँपालिकामा १०, भुमिकास्थान नगरपालिकामा ८, शितगंगा नगरपालिकामा ६, पाणिनी गाउँपालिकामा ५ र सन्धिखर्क नगरपालिकामा ३ वटा विद्यायलमा समिति गठन हुन सकेका छैनन् ।
जिल्लाको मालारानी गाउँपालिकामा भने सबै विद्यालयमा व्यवस्थापन समिति गठन भएका छन् । हाल कुनैपनि विद्यालय रिक्त नरहेको शिक्षा अधिकृत रमेश पन्थीले जानकारी दिनुभयो । मालारानी गाउँपालिकामा कुल ६३ वटा विद्यालय रहेका छन् ।
शितगंगाका १०९ विद्यालयमध्ये ६ वटा विद्यालय व्यवस्थापन समितीविहिन देखिएका छन् । शितगंगा १ को कालिका आवी लगायतका विद्यालय रिक्त रहेको शिक्षा अधिकृत विनोद पोख्रेलले बताउनु भयो । कुनै विद्यालय प्रक्रियामा रहेको र कुनै विद्यालयले बैठकहरु राखीरहेकाले छिटै ति विद्यालयहरुमा समिती गठन हुने उहाँले बताउनु भयो ।
पाणिनी गाउँपालिकाका पाँचओटा विद्यालयमा समिति गठन भएको छैन । हरिहर संस्कृत तथा साधारण मावी, साधनबुटा आवी लगायतका विद्यालयमा समिति गठन हुन नसकेको शिक्षा अधिकृत तेज बहादुर खनालले बताउनु भयो । ५४ वटा विद्यालय रहेको पाणिनी गाउँपालिकाका रिक्त विद्यालयमा छिटै समिती गठन हुने उहाँको भनाई छ ।
यस्तै सन्धिखर्क नगरपालिकाका ६३ सामुदायिक विद्यालयमध्ये ३ वटा विद्यालय समितिविहिन छन् । चुत्राबेसीको जनज्योती मावी, खाँचीकोटको चन्द्रप्रभा मावी लगायतका विद्यालय समितिविहिन रहेको शिक्षा अधिकृत मञ्जु आचार्यले बताउनु भयो । अहिले रिक्त जस्तो देखिएपनी प्रक्रियामा रहेकाले केही दिनमै समिति फुलफिल हुने उहाँको भनाई छ । ‘अहिले प्रक्रियामा रहेकाले रिक्त जस्तो देखिएका छन्,उहाँले भन्नुभयो,‘चन्द्रप्रभा मावीले अन्तीम तयारी गरेको छ, अन्य विद्यालयको पनि छिटै गठन हुन्छ ।’
यता ६३ वटा विद्यायल रहेको भुमिकास्थान नगरपालिकाका ८ वटा विद्यालय व्यवस्थापन समितीविहिन छन् । ढिकुराको शारदा मावी, दिपेन्द्र निमावी सहित ८ वटा जती विद्यालयमा अहिले समिति नरहेको शिक्षा अधिकृत तुवलाल सापकोटाले जानकारी दिनुभयो । प्रक्रियामा विद्यालयले ढिलाई गर्दा समिति गठन हुन नसकेपनि अब छिटै समिती बन्ने उहाँले दावी गर्नुभयो ।
छत्रदेव गाउँपालिकाका ३४ वटा विद्यालयमध्ये १० ओटा विद्यालय समितिविहिन छन् । महेन्द्र विद्याबोध मावी, जगतमाता आवी लगायतका विद्यालयमा समिति गठन हुन नसकेको शिक्षा अधिकृत तुल्सीराम न्यौपानेले बताउनु भयो । कतिपय विद्यालय प्रक्रियामा रहेकाले छिटै हुने र कतीपय विद्यालयमा केही विवाद हुँदा गठन प्रक्रियामा विलम्ब भएको उहाँले बताउनु भयो ।
समिती रिक्त बन्नु, प्रक्रियामा जानु र पुन गठन हुनु स्वभाविक प्रक्रिया भएपनि कतिपय विद्यालय राजनिति खिचातानीको चपेटामा पर्दै आएका छन् । विद्यालय व्यवस्थापन समिती,,, राजनिती भागबण्डाको आधारमा हुन्छ भन्ने ‘ओपन सेक्रेट’ जस्तै छ । स्थानिय नेता तथा कार्यकर्ताका लागी व्यवस्थापन समिती आफ्नो मान्छेको पोल्टामा पार्नु ठुलो उपलब्धी हुने गर्छ ।
तर सार्वजनिक रुपमा यो कुरालाई स्विकार्न उनिहरु अफ्ठ्यारो मान्छन् । कतिपय शिक्षाप्रेमीको नाममा त कतिपय सहमतीका नाममा विद्यालय व्यवस्थापन समितीमा प्रवेश गर्छन । कती गैरकानुनी रुपमा त कतीपय कानुनका छिद्राको दुरुपयोग गर्दै समितीमा बसिरहेका हुन्छन् ।
यसले समग्र शिक्षा प्रणलीलाई खोक्रो पारिरहेको छ । यो वा त्यो बहानामा विद्यालयसंग कुनै सरोकार नभएका व्यक्ती विद्यालयको महत्वपुर्ण पदमा बहालहुँदा विद्यालयको समग्र विकासमा खास् प्रगती हुन नसकेको सरोकारवालाले बताउने गरेका छन् ।
अर्घाखाँचीका सामुदायिक विद्यायलको अवस्था दयनीय बन्दै गएको छ । निजी विद्यालयमा आकर्षण, बढ्दो बसाईसराई लगायतका कारणले सामुदायिक विद्यालय दिनप्रतिदिन कमजोर बन्दै गएका छन् । शिक्षामा राजनिति हावी हुनुपनि एक कारण मान्न सकिन्छ ।
शिक्षा क्षेत्रको सुधारका लागी पालिकाहरुले विभिन्न उपायहरु अवलम्बन गरिरहेपनि खास् नतिजा आउन सकेको छैन । पालिका र विद्यालयको बिचमा राजनिती हावी हुँदा अभिभावकमा निरासा पैदा हुन्छ,जसले गर्दा विद्यालय सार्ने, निजी विद्यालयमा पढाउने गर्छन् । जसले सामुदायिक विद्यालयलाई कमजोर बनाउँदै लगेको छ ।
कमेन्ट गर्नुहोस !