आजबाट दशैं सुरु पहिलो दिन ‘घटस्थापना जमरा राखिंदै

काठमाण्डौं ।यस वर्षको बडा दशैं आजबाट सुरु भएको छ ।आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । आजको दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई वटा महत्त्वपूर्ण काम गरिन्छ । जमरा राख्ने र कलशको स्थापना गरि देवि देवताको पुजाआवाहन गर्ने ।
आजको दिन झिसमिसे बिहानीमै नुहाई धुवाई गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा विधिपूर्पक राखेर त्यसमाथि जौ छरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।
जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको धर्मशास्त्रहरुमा उल्लेख गरिएको पाइन्छ । जौको अङ्कुर भगवती दुर्गाको प्रिय वस्तु भएकोले जौ छरी भगवती दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेंलो जमरा ग्रहण गरिन्छ ।
आजको दिन जमरा उमार्ने स्थान नजीकै माटोको जलपूर्ण घडा ९कलश० को वरिपरि नौवटा देवीको प्रतिमूर्ति बनाई गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ ।घटस्थापनाको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आज दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा भगवती दुर्गाको प्रसाद ग्रहण गरिन्छ ।
भगवती दुर्गाका तीनरूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली ९संहार०, महालक्ष्मी ९सुरक्षा०र महासरस्वती ९सृष्टि०को पञ्चोपचारले पूजाआजा गरिन्छ । घटस्थापना गरिएको स्थानमा शंख, डमरू, घण्टी बजाउँदै सप्तसति चण्डी पाठ गरी दुर्गा भवानीको स्तुतिगान गरिन्छ ।
आजदेखि नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । घटस्थापानापछि दशैंको चहलपहल पनि सुरु हुन्छ । दशैंभर हरेक दिन प्रमुख शक्ति पिठहरु भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुहेश्वरी, मैतिदेवी, खाडादेवी, कालीमाईलगायत देशका अन्य स्थानका शक्ति पिठमा समेत दुर्गा भवानीको पुजा हुन्छ । त्यसैगरी देवदेवीका मन्दिर र शक्तिपीठहरूमा शक्तिरुपा दुर्गाको पूजा आराधना गरिन्छ ।
शक्तिस्वरूपा दुर्गाभवानीको नौरुप– शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रसिद्ध छ ।
आजको दिन विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा स्थापना गरिन्छ । हाम्रो धर्म, संस्कृतिअनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराणमा उल्लेख गरिएको छ । यसका अतिरिक्त घट कलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । आजको दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैं पूजाको थालनी गरिएको हो ।
घटस्थापनाको दिन काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा र हिन्दु धर्मावलम्बीहरुका घरमा जमरा राख्ने गरिएको छ । आजदेखि नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ ।
कमेन्ट गर्नुहोस !