नेपालले कतारलाई ५ रनले पराजित गर्यो

काठमाडौं,असोज २८ । नेपालले कतारलाई ५ रनले पराजित गरेको छ। गएराति सम्पन्न आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको हो।
ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा कतारले नेपालले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याउन सकेन । १३औं ओभरको समाप्तिमा कतारले दुई विकेटको क्षतिमा १०५ रन जोडेको थियो।खेलमा सन्दीप लामिछानेले पाँच विकेट लिँदा नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले रोहितको अर्धशतकप्रेरित खेलमा ९ विकेट गुमाउँदै १४७ रन जोडेको थियो। रोहितले ५८ रनको पारी खेले।मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपालले सुपर सिक्सको तेस्रो खेलमा कतारविरुद्ध लक्ष्यअनुरुपको योगफल खडा गर्न सकेन। तर, सन्दीप लामिछानेको सानदार बलिङप्रेरित नेपालले अर्को रोमाञ्चक जित हासिल गर्यो।
कमेन्ट गर्नुहोस !