विश्वमा प्रत्येक पाँचमध्ये एक बच्चा पानीको अभाव सामना गरिरहेका छन् : युनिसेफ

विश्वभर ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको संयुक्त राष्ट्रसंघ बालकोष (यूनिसेफ) ले बिहीबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ । विश्वव्यापी प्रत्येक पाँच बालबालिकामध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्न पर्याप्त पानी नहुने गरेको तथ्याङ्कमा उल्लेख छ ।
दक्षिण एसियामा कूल १५ करोड ५० लाख बालबालिका अर्थात् विश्वमा अन्य षेत्रको तुलनामा बढी बालबालिका पानीको अभाबबीच बाँचिरहेका तथ्याङ्क रहेको छ । यूनिसेफले पानीको अभाव झेलिरहेका मुलुकहरूमध्ये अफगानिस्तान, बुर्किनाफासो, इथियोपिया, हैटी, केन्या, नाइजर, नाइजेरिया, पाकिस्तान, पपुआ न्यूगिनी, सुडान, तान्जानिया र यमनलगायतका ३७ मुलुकलाई समस्याग्रस्त मुलुकको अग्रस्थानमा राखेको छ । युनिसेफका कार्यकारी निर्देशक हेनरीता फोरद्वारा जारी एक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विश्वको पानी सङ्कट यत्तिकै आएको होइन यसलाई जलवायु परिवर्तनको नराम्रो प्रभावका रूपमा हेरिएको छ ।’
फोरले भने, ‘पानीको अभावका कारण सबैभन्दा बढी प्रभावित बालबालिकाहरू रहेको देखिएको छ । इनारहरू जब सुख्खा हुन्छन् बालबालिकाहरू विद्यालय छोडेर पानी बोक्न धाउन सक्छन् । खडेरीले खाद्यान्न आपूर्तिमा कमी भएपछि बच्चाहरू कुपोषण र शारीरिक वृद्धिमा प्रभाव पर्दछ । जब बाढी आउँछ उनीहरू नै पानीजन्य बिरामीहरूबाट बिरामी पर्दछन् र जब पानीको स्रोतको अभाव हुन्छ यसको प्रभाव बच्चाहरूले रोगहरू विरुद्ध लड्न आफ्नो हात धुनसमेत पाउँदैनन् ।’
नयाँ रिपोर्ट युनिसेफको ‘सबैका लागि पानी सुरक्षा’ पहलको एक हिस्सा हो र प्रत्येक बालबालिकालाई दीगो तथा पानीको सेवामा पहुँच छ भन्ने कुरा सुनिश्चित गर्न पहल हो । ‘हामीले अहिले नै पानीको समस्यालाई सम्बोधन गर्नुपर्छ र यसलाई अझ खराब हुनबाट रोक्नको लागि पहल गर्नुपर्छ र यसको समाधान जलवायु परिवर्तनका स्रोतहरूलाई रोकेर यस ग्रहमा भविष्यका ताराहरूलाई पानीको अभावबाट कम प्रभावित बन्ने अवस्था सिर्जना गर्नु नै आजको आवश्यकता हो’ उनले भने ।एजेन्सी ।
कमेन्ट गर्नुहोस !