प्रहरी दिवसमा अर्घाखाँचीमा ६२ जनाले रक्तदान गरे

सागर महत,सन्धिखर्क ।
६९ औं प्रहरी दिवसको अवसरमा सन्धिखर्कमा बृहत रक्तदान कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र नेपाल नियमित रक्तदाता संघ अर्घाखाँचीको संयुक्त आयोजनामा रक्तदान गरिएको हो ।
कार्यक्रममा ६२ जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाल प्रहरीबाट ३२ जना, स्थानीयबाट २१ जना, नेपाल आर्मीबाट ५ जना र सशस्त्रका ४ जना गरि ६२ जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले रक्तदान नै महादान भएको बताउनुभयो । आफ्नो खेर जाने रगत दिएर कसैको जिवन बँच्छ भने यो भन्दा ठुलो धर्म अरु नहुने उहाँको भनाई छ । नियमित रक्तदाता संघका केन्द्रिय उपाध्यक्ष लेखनाथ भुसालले यो अभियानले बिरामीहरूलाई रगतको आपूर्ति सहज गराउने अपेक्षा राखेको बताउनुभयो ।
कमेन्ट गर्नुहोस !