आज दशैँको घटस्थापना,जमरा राखिने

काठमाण्डौं ।बडा दशैँको पहिलो दिन आज घटस्थापना। परम्पराअनुसार दशैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ। बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक घटस्थपना गर्ने साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ।देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ।
नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव जौ रोपिन्छ। रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दशैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ।
आजैदेखि धेरैजसो शैक्षिक संस्थाले दशैँका अवसरमा बिदा दिएका छन्।
कमेन्ट गर्नुहोस !