बिमा रकम हात पार्न केसीको हत्यामा संलग्न परिवारका चारजनालाई जन्मकैदको फैसला

काठमाण्डौं ।हत्यामा संलग्न ४ लाई जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसला गरेको छ।हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ की २४ वर्षीया सुस्मिता केसीको हत्या भएको करिब साढे २ वर्षपछि अदालतले सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीता थापालाई हत्याको कसुरदार ठहर गरी जन्मकैद अर्थात जनही २५ वर्षको कैद हुने फैसला गरेको हो।
कपिलवस्तु वाणगंगा नगरपालिका माइतीघर भएकी सुस्मिताका पति रुपेन्द्र थापाको २०७६ असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो।
उनीहरूको विवाह २०७६ वैशाख १८ गते भएको थियो। पतिको दुर्घटनामा मृत्यु भएपछि पतिको नाममा रहेको बिमा रकम हात पार्नका लागि हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो। यस्तै, अदालतले सासु तुलसा थापालाई हत्याको मतियार ठहर गरी १० वर्षको जेल सजाय तोकेको छ। गत पुस २१ गते बिहीबार नै पाँचैजना अभियुक्तलाई अदालतले दोषी ठहर गरेको थियो। अदालतले मृतक सुस्मिताको सासु, ससुरा, दुईजना नन्द र जेठी नन्दका श्रीमानलाई दोषी करार गरेको थियो।
कमेन्ट गर्नुहोस !