यति एयरको विमानमा सवार ७२ कै मृत्यु, ६८ जनाको शव संकलन

पोखरा । पोखरामा आइतबार भएको कहालीलाग्दो हवाई दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ । यती एयरको एटीआर–७२–५०० दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६८ जनाको शव संकलन गरिएको छ । विमानमा चालक दलका ४ सहित ७२ जना यात्रु सवार थिए । अन्य ४ जनाको शव संकलनमा कठिनाइ भएको छ । नेपालको आन्तरिक हवाई उडानमा यति धेरै यात्रुको मृत्यु भएको यो पहिलो घटना हो । पोखराको यो घटनाले आइतबार सिंगो मुलुक नै शोकमय बन्न पुगेको थियो । सरकारले सो घटनाको शोकमा सोमबार सार्वजनिक बिदा दिएको छ ।
काठमाडौंदेखि पोखरा उडेको यती एयरलाइन्सको ९एन–एएनसी, एटीआर–७२ ५०० वायुयान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान १०ः५२ बजे सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो । काठमाडांैंबाट १०ः३२ मा उडेको जहाज पोखरा टावरसँग सेती नदीको खोंचमा अन्तिम सम्पर्क भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानमा सवार यात्रुमध्ये ५३ नेपाली र १५ विदेशी यात्रु थिए । विदेशीमध्ये ५ भारतीय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अस्टे«लियन, १ आइरिस र १ फ्रान्सेली नागरिक थिए । जहाजमा चालक दलका सदस्यमा पाइलट कमल केसीसहित कोपाइलट अञ्जु खतिवडा तथा एयरहोस्टेज सिर्जना होंगचु र ओसिन आलेमगर थिए ।
विमान खसेको स्थान पुरानो विमानस्थलको पूर्वपट्टिको नेपाली सेनाको ब्यारेक पछाडि पर्छ । नयाँ विमानस्थलतर्फ ल्यान्ड गर्न मोडिएको अवस्थामा विमान दुर्घटनामा परेको स्थानीय बताउँछन्। विमानस्थलले अतवरणको अनुमति लिइसकेको अवस्थामा दुर्घटना भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार मौसमको समस्या नभए पनि विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।
यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।
कमेन्ट गर्नुहोस !