सन्धिखर्क नगरपालिकाको ९८ करोड ५० लाख रुपैयाँको बजेट,गत आर्थिक वर्ष भन्दा फरक कार्यक्रम

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले २०७८/७९ का लागि ९८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ ।जसमा कोरोना खोपको लागि ५०लाख रुपैयाँको कोष स्थापना गर्ने भएको छ । यस्तै ८४ वर्ष माथिका जेष्ठ नागरिक लाई घरमा पुगि उपचार गर्ने,धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्नको लागि निजी क्षेत्र संग सहकार्य गर्ने ,नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने कार्यक्रम रहेको सन्धिखर्कका नगरप्रमुख कमलप्रसाद भुसालले जानकारी दिनुभयो ।
यस्तै प्रत्येक वडामा सम्भाव्यताका आधारमा पकेट क्षेत्रका रुपमा विकास गर्ने, बर्थिङ्ग सेन्टर रहेका वडाहरुका स्वास्थ्य संस्थामा पूर्णतः संस्थागत सुत्केरी गराई घरमा शून्य सुत्केरी कार्यक्रम अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ । कोभिड –१९ को कारण बैदेशिक रोजगारी गुमाई स्वदेश फर्कीएका व्यक्तिहरुले व्यवसायिक रुपमा तरकारी, जडिबुटी तथा फलफूल खेति गर्न चाहेमा संघ तथा प्रदेश सरकारसंग समन्वय गरि प्रति रोपनीका दरले प्रोत्साहन अनुदान उपलब्ध गराइने नगरउप्रमुख ठाकुर कुमार विकले जानकारी दिनुभयो ।
प्रकृतिका रोगहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाबाट आर्थिक सहायता प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने र अति विपन्न परिवारका गन्दर्भ, बादी तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिका लागि निश्चित मापदण्ड निर्धारण गरि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने भएको छ ।
नगर क्षेत्रभित्र पाठेघर खस्ने, फिस्टुला, पाठेघर तथा स्तन क्यान्सर तथा मुटु रोगबाट पीडित महिलालाई लक्षित गर्दै निशुल्क जाँच सिबिर संचालन गर्ने भएको छ । स्वास्थ्य संस्थासँगको समन्वय तथा साझेदारीमा मोतिबिन्दुको निशुल्क शल्यक्रियाको व्यवस्था गर्ने तथा निशुल्क गर्भ परीक्षण, सुरक्षित गर्भपतन सेवा तथा निमोनिया र दमका बिरामीका लागि निशुल्क नेबुलाइजेशन सेवा उपलब्ध गराउने नीति अवलम्बन गर्दै बालबालिका, किशोरीहरु तथा सुनौलो हजार दिन भित्रका महिलाको पोषण स्थितिमा सुधार ल्याउन विशेष कार्यक्रम संचालन गर्ने भएको छ ।सडक गुरु योजना ,प्रकोप पिडितहरुको लागि तत्काल राहत व्यवस्था गर्ने,घर निर्माण गर्दा कम्तिमा २ वटा बिरुवा रोपेको अवस्थामा मात्र घर निर्माण गर्न दिने लगायतका कार्यक्रम ल्याएको प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !