नेपालले भने- ओलीसँग आत्मसमर्पण गरिन्न

नेकपा नेता माधवकुमार नेपालले आफूहरू केपी ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन् । मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ओलीको अगाडि घुँडा नटेक्ने भनाइ राखे ।

ओलीले सोधेको स्पष्टीकरणबाट आफूहरू नतर्सिएकोसमेत नेपालको भनाइ छ । ओली समूहले नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई सोमबार स्पष्टीकरण सोधेको थियो । पार्टी हितविपरीत काम गरेको भन्दै चार नेतालाई तीन दिनभित्र जवाफ दिन भन्दै स्पष्टीकरणपत्र थमाइएको थियो ।

तर, ओली समूहको उक्त कदमले आफूहरू आतंकित नभएको नेपालको भनाइ छ । कार्यक्रममा उनले भने, ‘आज एकजनाले मलाई भन्दै हुनुहुन्थ्यो– मिल्नका लागि उहाँ (केपी ओली)ले जे–जे कारबाही गर्नुहुन्छ, (सहेर भए पनि, पार्टीबाट निकालिदिनुहुन्छ भने पनि, पार्टीबाट निकालिए पनि) चुप लागेर बसिदिनुस् । के त्यही बाटोमा हामी जाने हो, के घुँडा टेक्ने बाटोमा जाने हो, के आत्मसमर्पणको बाटोमा जाने हो, के ओलीको टाङमुनि छिर्ने हो ? यो हामीलाई किमार्थ मञ्जुर छैन । त्यसकारण ओलीको कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौँ, आतंकित भएका छैनौँ । त्यसको सामना गर्न तयार छौँ ।’

मैदान छाडेर आफूहरू नभाग्ने र पार्टी पनि नफुटाउने नेपालको भनाइ छ । ‘हामी ओलीको स्पष्टीकरणबाट तर्सेका छैनौँ । मैदान छाडेर भाग्नेवाला छैनौँ । पार्टी हामी फुटाउँदैनौँ । पार्टी फुटाउने ओली हुन् । पार्टी फुटाउँछन् भने ओलीले फुटाउँछन्, हामीले पार्टी फुटाउँदैनौँ,’ उनले थपे ।

अलमलमा रहने आफ्नो बानी नरहेको र ओलीसँग लड्नु गाह्रो काम नभएको उनले भनाइ राखे । ‘ओलीसँग लड्ने कुनै गाह्रो काम होइन । यिनका दुई दिनका चुरिफुरी प्रधानमन्त्रीको कुर्सीमा बस्दासम्म मात्रै हो । प्रधानमन्त्रीको कुर्सीबाट जब उनी सडकमा उत्रिनेछन्, ओली प्रवृत्तिको हावा खुस्किनेछ,’ उनले थपे ।

ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको पनि नेपालको भनाइ छ । ओली र आफूहरूको प्रवृत्ति नै फरक रहेकोसमेत उनले बताए । ‘ओलीको प्रवृत्ति छुट्टै छ, उहाँमा व्यक्तिवादी प्रवृत्ति छ । हाम्रो प्रवृत्ति सामूहिकतावादी छ । आफूलाई केन्द्रमा राखेर चल्ने प्रवृत्ति ओलीमा छ । हामीले संगठनलाई केन्द्रबिन्दुमा राखेर चल्नेलाई प्रोत्साहित गर्दछौँ । हामीमा संगठनवादी प्रवृत्ति रहेको छ ।

दुईवटामा रहेको भिन्नतालाई तपाईंहरूले बुझ्नैपर्छ,’ उनले थपे, ‘कतिपयलाई लाग्छ के हो झगडा, ओली र अर्काे समूहको बीचमा द्वन्द्वको कारण के हो, विवादको कारण के हो, कतै पदको हानाथाप त होइन, कतै स्वार्थको बाझाबाझ त होइन, कतै व्यक्तिका अहंकार टकराइरहेका त होइनन् ?’नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close