महिलाहरुका अधिकारलाई सुनिश्चीत गर्न स्थानीय सरकारमा धेरै अधिकार छनःभुसाल

भावना मगर /अर्घाखाँची ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले महिलाहरुलाई महिला भएकै कारण दुःख पाए भन्ने सोंच हटाउन आग्रह गर्नुभएको छ। लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा स्थानीयतहको भुमिका विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै उनले महिलाहरु महिला भएकै कारण दुःख पाए भन्ने सोँचका कारण पछि परेकाले यस्तो सोंच हटाउन आग्रह गर्नुभयो। उहाँले संविधानले महिलाहरुका हक अधिकारलाई सुनिश्चीत गरेको र स्थानीयतहले पनि धेरै अवसर दिएकाले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
महिलाहरु कुनैपनी किसिमले पुरुष भन्दा दुर्बल नरहेको उल्लेख गर्दै उनले मानसिकता र सोंच परिवर्तन गर्नुपर्ने बताउनुभयो । ‘पुरुष बलियो हुन्छन्, महिलाले सक्दैनन् भन्ने जस्ता कुराहरु सुन्छु, नगरप्रमुख भुसालले भने,‘कुनै कुरामा महिला कम छन् जस्तो लाग्दैन ।’ सबैका फरक फरक खुबी र क्षमता हुने भएकाले कसैले कसैलाई कमजोर सोंच्न नहुने उनको भनाई थियो ।
सञ्चारीका समुह लुम्बिनी प्रदेशको समन्वय र सन्धिखर्क नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, अनेमसंघ केन्द्रिय सचिवालय सदस्य छमकुमारी खनाल चिनारी, महिला संघ जिल्ला सचिव छमा कार्की, अनेमसंघ केन्द्रिय सदस्य ईश्वरा पोख्रेल, कल्पना पोख्रेल, अन्तर पार्टी महिला संञ्जाल जिल्ला समन्वय सचिव माधवा भुसाल, कार्यपालिका सदस्य श्रीर्जना बिक, नगरसभा सदस्य आशा परियार लगायतले मन्तव्य राख्नुभएको थियो।कार्यक्रममा नगरसभा सदस्य, कार्यपालिका सदस्य, स्वयंसेविका, विभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षता, नगर प्रवक्ता तथा वडा नम्बर३ का वडाध्यक्ष लिलाराम गौतमको स्वागत मन्तव्य र पुष्पा भुसालको संचालनमा सम्पन्न कार्यक्रमको सहजिकरण संञ्चारीका समुह लुम्बिनी प्रदेश महासचिव अमृता अनमोलले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !