पिपलनेटा बजारको ढलान सडक उद्घाटन

टेकराज भुसाल ,चैत्र०५,अर्घाखाँची ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं। १ र २ मा पर्ने प्रमुख व्यापारिक केन्द्र पिपलनेटा बजारको ढलान सडक निर्माण कार्य सम्पन्न भई बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेश सरकार अन्तर्गत सहरी विकास मन्त्रालय र भूमिकास्थान नगरपालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न उक्त सडकको उद्घाटन भूमिकास्थान( २ का वडाध्यक्ष बुद्धि बहादुर थापाले रिबन काटेर गर्नुभएको हो।

उद्घाटन समारोहमा बोल्दै वडाध्यक्ष थापाले समग्र भौतिक पूर्वाधारको विकासले गाउँमा विकासको लहर ल्याएको बताउनुभयो। तर उहाँले विकास गाउँमा पसिसकेको भए पनि जनसंख्या भने सहरतिर पलायन भइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो।

“अब विकास गाउँ पसिसकेको छ, तर मान्छेहरू सहर पस्न खोजिरहेका छन्, यो विकृति हो,” वडाध्यक्ष थापाले भन्नुभयो, “हामीले सोच र व्यवहारमा परिवर्तन ल्याएर गाउँमै समृद्धिको आधार तयार गर्नुपर्छ।”
उहाँले गाउँमा नै रोजगारी, उत्पादन र अवसर सिर्जना गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै युवालाई सकारात्मक सोचका साथ गाउँमै टिक्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नगर कार्यपालिका सदस्य खुमा बेलवासे, केशरा परियार, भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ का वडा सदस्य मेघराज खनाल, नारायणप्रसाद खनाल, गोपालबहादुर नेपाली, भूमिकास्थान युवा संजालका संयोजक तथा पत्रकार टेकराज भुसाल, निर्माण कम्पनी युनिक कन्स्ट्रक्सनका कृष्ण केसी लगायत कर्मचारी, सुरक्षा निकाय र स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो।

लुम्बिनी प्रदेश सरकार अन्तर्गत सहरी विकास मन्त्रालयको करिब २९ लाख र भूमिकास्थान नगरपालिकाको २ लाख ५० हजार लगानीमा युनिक कन्स्ट्रक्सनले उक्त ढलान कार्य सम्पन्न गरेको हो।

पिपलनेटा बजार भूमिकास्थान नगरपालिकाको आर्थिक, सामाजिक तथा व्यापारिक केन्द्रका रूपमा रहेको छ। उक्त ढलान सडक निर्माणपछि यातायात, व्यापार तथा स्थानीय जनजीवन थप सहज हुने विश्वास लिइएको छ।

कार्यक्रम पिपलनेटा बजार सुधार समितिका अध्यक्ष तिलक खनालको अध्यक्षता, उपाध्यक्ष बिष्णु शर्माको संचालनमा सम्पन्न कार्यक्रममा सडक ढलान कार्यमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close