५० दिने सीपमुलक तालिम सन्धिखर्कमा सम्पन्न

बिष्णु खनाल ,अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले सञ्चालन गरेको सीप मुलक तालिमको आज सम्पन्न भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाले सञ्चालन गरेको ५० दिने सीपमुलक तालिमको एक कार्यक्रमका बीच सम्पन्न गरिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम युवा रोजगारीको लागि स्थानान्तरण पहल आयोजना अन्तर्गत ५० दिनसम्म सीप÷क्षमता विकास जीवन उपयोगी (प्लम्विङ्ग) तालिम सञ्चालन गरिएको थियो । लुम्बिनी पोलिटेक्निक ईन्स्टिच्युट प्रा.लि. बाणगङ्गा, कपिलवस्तुले सहजिकरण गरेको तालिममा नगरपालिकाभित्रका १२ वटै वडाबाट सूचिकृत भएका ४० जना श्रमिकहरुको सहभागिता रहेको थियो ।
५० दिन अवधिको कार्य स्थलमा आधारित सिप/क्षमता विकास जीवन उपयोगी (प्लम्विङ्ग) तालिम समापन तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रम नगर प्रवक्ता तथा २ नं. वडाध्यक्ष मोतिजङ्ग रायमाझी, वडा नं. १ का वडाध्यक्ष माधव श्रेष्ठ, निमिक्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु खनाल, पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, लुम्बिनी पोलिटेक्निक ईन्स्टिच्युट प्रा.लि.का डाईरेक्टर अरुण कुमार अर्याल लगायतले मन्तव्य राख्दै आफुले सिकेको सीपलाई व्यवहारमा लागु गर्दै स्वरोजगार बन्न आग्रह गरे । अघिल्ला आर्थिक वर्षहरुमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सूचिकृत भएका श्रमिकहरुले नाली, बाटाघाटा, सरसफाई गर्ने मात्र काम हुने र वर्षाले पुनः उस्तै बनाउने भएकाले यसपाली नगरपालिकाले सीपमुलक तालिम दिने निर्णय गरेको थियो ।
यस्तै तालिममा सहभागी प्रशिक्षार्थीहरुको तर्फबाट धन्यवाद मन्तव्य राख्दै शान्ता गैरे थापाले तालिमबाट धेरै कुरा सिकेको र आफुले सिकेको सीपलाई भरपुर उपयोग गर्ने प्रतिवद्धता जनाउँदै यस्ता खालका तालिमले ग्रामिणस्तरमा रहेका निम्नवर्गका मानिसलाई आयआर्जनमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. ७ का वडाध्यक्ष चुरा ब. के.सी., १२ का वडाध्यक्ष नारायण खड्का, कार्यपालिका सदस्य लिला भुसाल, पत्रकार महासंघका जिल्ला सदस्य बिष्णु खनाल, प्राविधिक लोक बहादुर जि.एम., प्रशिक्षक ज्योती तिवारी लगायत तालिममा सहभागि प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम नगर प्रवक्ता मोतीजंग रायमाझीको अध्यक्षता, निमिक्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु खनालको स्वागत मन्तव्य र रोजगार संयोजक शालिक नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !