अर्घाखाँचीमा आगलागीमा ४३ वटा घरगोठ जलेर नष्ट

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीका विभिन्न पालिकामा शनिवार भएको आगलागीमा ४३ वटा घरगोठ जलेर नष्ट भएका छन् ।जसमध्ये २० वटा घर र २३ वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस्तै आगलागीबाट छ वटा भैँसी र ११ वटा बाख्रा जलेर मरेका छन । भूमिकास्थान नगरपालिका वडा नम्बर ३/४ धारापानीमा हिजो भएको आगोलागीमा २३ वटा घरगोठ जलेर नष्ट भएका छन् ।
धारापानीको रातामाटा, जाबुनडाडा, बाजाखर्क, फलामखिल्जी लगायतका गाउँमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिनुभयो।
यता शितंगंगा नगरपालिका वडा नम्बर ४,६,१० र १२ का विभिन्न क्षेत्रमा लागेको आगोबाट ५ घर र ८ गोठ जलेर नष्ट भएको बताउनुभयो ।यस्तै पाणिनी गाउँपालिका वडा नम्बर ३ र ८ मा लागेको आगलागी बाट २वटा घर र ५ वटा गोठ चलेर नष्ट भएको प्रहरी निरिक्षक रावलको भनाइ छ ।
सबै स्थानमा लागेको आगो जगंलबाट बस्तीमा पुगेको थियो ।बस्तीको आगो नियन्त्रणमा आए पनि जगंलको आगो नियन्त्रणमा आएको छैन ।
कमेन्ट गर्नुहोस !