अर्घाखाँचीमा जारी एपिएल क्रिकेटमा रोयल सन्धिखर्क फाईनल प्रवेश

बिष्णु खनाल,सन्धिखर्क ।
अर्घाखाँचीमा जारी एपिएल क्रिकेटमा आज तेस्रो दिन दुई खेल सम्पन्न भएका छन् । सन्धिखर्कको टुँडीखेलमा जारी आजका दुई खेलमा रोयल सन्धिखर्क र सुपर सुपा ईलाभेन विजयी भएका हुन् ।विहान ९ बजेदेखि सुरु भएको तेस्रो दिनको पहिलो खेलमा सौजन्य समाज किमडाँडा र रोयल सन्धिखर्क भिडेका थिए । जसमा रोयल सन्धिखर्कले सौजन्य समाज किमडाँडालाई ६ रनले पराजित गरेको हो ।

टस हारेर ब्याटिङ्गको निम्तो पाएको सन्धिखर्कले १९ दशमलव ५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय २३ रन बनायो । जसका लागि रोयल सन्धिखर्कका विजय श्रेष्ठले सर्वाधिक ३८ रन र समिर राउतले ३३ रनको योगदान दिए । यस्तै बलिङ्ग तर्फ सौजन्य समाजका महेन्द्र शाहीले ३ दशमलव ५ ओभर गर्दै १६ रन खर्चिएर ५ विकेट लिए । यस्तै बावुराम थापाले ३, शुभम खनाल र सरोज खत्रीले समान एक÷एक विकेट हात पारे ।
१ सय २४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको सौजन्य समाज किमडाँडाले सबै विकेट गुमाएर १ सय १७ रन मात्र बनाउन सक्यो । निकै रोमाञ्चक मोडमा पुगेको खेलमा रोयल सन्धिखर्कलाई विजयी बनाउनका लागि कप्तान नविन भण्डारीले किफायति बलिङ्ग गर्दै ३ विकेट लिए भने मनोज भुसाल र नवजिवन क्षेत्रीले समान २/२, सन्दिप बस्नेत र रञ्जित भुसालले समान १/१ विकेट लिएका थिए । किमडाँडाका लागि सरोज खत्रीले सर्बाधिक ३३, शुभम खनालले २५, बाबुराम थापा १३ र किसन केसीले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
आज भएको पहिलो खेलमा रोयल सन्धिखर्कले सौजन्य समाज किमडाँडालाई ६ रनले हराउँदै ३ खेलमा ६ अंक जोडी लिगको फाईनल प्रवेश समेत गरेको छ ।
यस्तै आजै भएको दोस्रो खेलमा सुपर सुपा ईलाभेनले ईलाभेन ब्रदर्श डिभर्नालाई १ सय ९९ रनको पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ्ग रोजेको सुपर सुपाले २० ओभरमा २ सय २२ रनको विशाल योगफल तयार पारेको थियो । यो योगफल जारी लिगकै सर्वाधिक लक्ष्य प्रस्तुत हो ।
जसका लागि सुपर सुपाका सागर चौहान र प्रवास भुसालले आक्रमण ब्याटिङ्ग गर्दै अर्धशतकिय पारी खेले । चौहानले ३७ बलमा ६ छक्का र ५ चौकाको मद्दतमा ६४ रन बनाए भने भुसालले ४ छक्का र ६ चौका हान्दै ५१ रन बनाए । यस्तै सुपर सुपाका कप्तान त्रिभुज कार्कीले ३४, सुप्रिम सुनारले २१ र निराजन केसीले १९ रन हान्दै २ सय २२ रन बनाएको थियो ।
२ सय २३ रनको लक्ष्य पछ्याएको डिभर्ना २३ रनमै अल आउट हुन पुग्यो । सुपर सुपाका रोहित भुसाल र त्रिलोचन भट्टराईले घातक बलिङ्ग गर्दै डिभर्नालाई २३ रनमै रोक्न सफल भएका थिए । भुसालले जारी लिगकै सर्वाधिक ७ विकेट लिए भने भट्टराईले ३ विकेट हात पारे ।
यस अघि भएका आफ्ना २ वटै खेलमा पराजित भएको सुपर सुपाले डिभर्नालाई १ सय ९९ रनको फराकिलो अन्तरले पराजित गरेसँगै फाईनल यात्राका लागि भने आशा जिवितै राखेको छ । रोयल सन्धिखर्क ३ खेलमा ६ अंक जोड्दै लिगको शिर्ष स्थानमा छ ।
एपिएलका सम्पुर्ण खेलहरु एवान टेलिभिजन र ट्रेन्डिङ्गखवरबाट प्रत्यक्ष प्रसारण हुँदै आईरहेका छन् भने क्रिकहिरोज डटकमबाट बल बाई बलको लाईभ अपडेट गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close