भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा बस दुर्घटना, ९ जनाको मृत्यु

बुटवल । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा -परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खस्दा ९ जनाको मृत्यु भएको र करिब ३ दर्जन यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए । घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले पुष्टि गर्नुभएको छ ।
मृतकमध्ये एक जना महिला र अरु ८ जना पुरुष रहेका छन् । उनीहरूको सनाखत भइसकेको छैन । दुर्घटनामा घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।
कमेन्ट गर्नुहोस !