अध्यक्षका प्रत्यासी भिम रावलले बाँडे पर्चा

नेकपा एमालेको जारी १० औं महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास गरिरहँदा नेता भीम रावल भने एक्लै भए पनि अध्यक्षको उम्मेदवारी दिने अडान राख्दै आएका छन् ।
आइतबार बन्दसत्र सुरु हुनुअघि नै उनका समर्थक प्रतिनिधिहरूले भीम रावलको पक्षमा भोट अपिल गर्दै पर्चासमेत बाँड्न सुरु गरेका छन् । जवकि निर्वाचन आचार संहिता अनुसार २ बाइ ४ इन्चको भिजिटिङ कार्ड बाहेक अन्य कुनै पर्चा बाँड्न र छुट्टै भेला गर्न नपाइने लगायत व्यवस्था गरिएको छ ।
नेता रावलले भने शनिबारदेखि नै अध्यक्ष पदका लागि आफ्नो पक्षमा भोट अपिल गर्दैआएका छन् । आइतबार बिहान महाधिवेशन स्थलमा बन्दसत्र सुरु नहुँदै केही प्रतिनिधिहरूले रावलको प्रचारात्मक सामग्री बितरण गर्दै भोट मागिरहेका छन् । ओली पक्षका नेताहरू भने सर्वसम्मत नेतृत्व चयनका लागि छलफलमै छन् ।
ओली निकट नेताहरूले सर्वसम्मत रुपमा नै नेतृत्व चयन गरिने बताउँदैआएका छन् । यद्यपि ओली समूहभित्र शीर्ष नेताहरूबीच वरिष्ठ उपाध्यक्ष, महासचिव लगायत पदमा आकांक्षा धेरै हुँदा कुरा नमिलेपछि बन्दसत्र सुरु हुन सकेको छैन । यतिबेला ओली बस्ने होटलमा केन्द्रीय सदस्य तथा पदाधिकारीका आकांक्षीहरूको भीड नै लागेको छ । आइतबार बिहान ११ बजे बन्दसत्र सुरु हुने भनिए पनि केही समयका लागि धकेलिएको छ ।
कमेन्ट गर्नुहोस !