महाधिवेशन तयारी छलफलमा ओलीलाई रावल र भुसालको ‘काउन्टर’

अध्यक्षबाटै पार्टीलाई कमजोर बनाउने गरी एकताविरोधी अभिव्यक्ति आएको भन्दै गम्भीर आपत्ति
भीम रावल, उपाध्यक्ष, एमाले
हामीले पार्टी एकतालाई केन्द्रबिन्दुमा राखेर मिहिनेतसाथ दशबुँदे सहमति गर्यौँ, तर त्यो सहमतिको निरूपण नहुने, कार्यान्वयन नहुने हो भने त्यसले देशव्यापी रूपमा कस्तो सन्देश देला ? अध्यक्षले यस्तै अभिव्यक्ति दिँदै जाने हो भने कालान्तरमा त्यसले पार्टीलाई नै क्षति पुर्याउँछ ।
एमालेको दसौँ महाधिवेशन तयारीसम्बन्धी छलफलमा स्थायी समितिका नेताहरूले अध्यक्ष केपी ओलीबाटै पार्टीलाई कमजोर बनाउने गरी एकताविरोधी सार्वजनिक अभिव्यक्ति आएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।
पार्टीले विभाजनको पीडा भोगिरहेका वेला अध्यक्ष सहमति र एकताप्रति संवेदनशील नबन्ने हो भने क्षति व्यहोर्नुपर्ने स्थिति आउनेतर्फ समेत सजग गराउँदै उपाध्यक्ष भीमबहादुर रावल, उपमहासचिव घनश्याम भुसालसहितका नेताहरूले बिहीबारको स्थायी समिति बैठकमा अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
दसौँ महाधिवेशन तयारीका विषयमा छलफल गर्न बिहीबार च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा एमाले स्थायी समिति बैठक बसेको थियो । रावल, भुसालसहित उपाध्यक्ष युवराज ज्ञवालीको आपत्तिपछि ओलीले कमजोरी महसुस गरेका छन् भने शुक्रबारको स्थायी समिति बैठकमा दशबुँदे सहमति कार्यान्वयनका लागि रावलकै नेतृत्वमा बनेको कार्यदलले प्रस्तुत गर्ने सुझाबलाई कार्यसूची बनाइएको छ ।
सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले सहमति कार्यान्वयनबारे कार्यदलले प्रस्तुत गर्ने सुझाबमाथि शुक्रबारको बैठकमा छलफल हुने बताए । पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको शपथ कार्यक्रममा ओलीले दशबुँदे सहमतिको एकतारे बजाएर अल्झिनुको औचित्य नभएको भन्दै कार्यान्वयन नगर्ने संकेत गरेका थिए । ओलीको त्यही भनाइमा रावल र भुसालले आपत्ति जनाएका हुन् ।
घनश्याम भुसाल, उपमहासचिव, एमाले
मैले अध्यक्षको तहबाट त्यसरी सहमतिबारे नबोलेको भए हुन्थ्यो भन्ने कोणबाट विषय उठाएको हुँ । मैले उठाएको विषयलाई अध्यक्षले कुनै खण्डन गर्नुभएन, त्यसकारण मनन् गर्नुभएको होला भन्ने मैले ठानेको छु ।
‘तपाईंले बागमती प्रदेशको कार्यक्रममा जे कुरा बोल्नुभयो, त्यसमा पार्टीको विधि र पद्धति आकर्षित हुने कुरा कुरा छँदै छ, ती कुरा पछि गर्दै गरौँला । किनभने दशबुँदे सहमतिबारे कमिटीले नै निर्णय गरेको हो । अध्यक्षजतिको उचाइको व्यक्तिले गलत तथ्यमा उभिएर त्यसरी बोल्नु हुँदैनथ्यो,’ भुसालको प्रतिवाद उद्धृत गर्दै एक नेताले भने, ‘दशबुँदे सहमतिसँग सम्बन्धित तमाम प्रमाण छाडिदिऊँ, बैठकमा सहभागी हुनुअघि तपाईंकहाँ (बालकोट)मा हामी दश भाइलाई तपाईंले माधव नेपाल आउँदैनन्, दशबुँदे सहमतिलाई पार्टीले अनुमोदन गरिसकेको छ, २ जेठमा जाने हो, त्यसो गर्दा ढिलो नगरौँ भनेको हो कि होइन ? दशबुँदे कसरी भयो, त्यसको लामो प्रक्रिया त छँदै छ, तर तपाईं स्वयंले बोलेको कुरामा तपाईंले दिएको अभिव्यक्ति कसरी मेल खान्छ ?’
भुसालले आफूले अध्यक्षको उचाइबाट सहमतिमा आँच पुग्ने गरी अभिव्यक्ति दिने कुरा गलत भएको विषय उठाएको जानकारी दिए । ‘मैले अध्यक्षको तहबाट त्यसरी सहमतिबारे नबोलेको भए हुन्थ्यो भन्ने कोणबाट विषय उठाएको हुँ,’ अध्यक्ष ओलीले कमजोरी महसुस गरेको संकेत गर्दै भुसालले भने, ‘मैले उठाएको विषयलाई अध्यक्षले कुनै खण्डन गर्नुभएन, त्यसकारण मनन् गर्नुभएको होला भन्ने मैले ठानेको छु ।’
उपाध्यक्ष रावलले पनि ओलीले आफ्नोतर्फबाट दिने अभिव्यक्ति नसच्याउने हो भने पार्टीलाई ठूलो क्षति पुग्ने भन्दै चेतावनी दिएका थिए । ‘हामीले पार्टी एकतालाई केन्द्रबिन्दुमा राखेर मिहिनेतसाथ दशबुँदे सहमति गर्यौँ, तर त्यो सहमतिको निरूपण नहुने, कार्यान्वयन नहुने हो भने त्यसले देशव्यापी रूपमा कस्तो सन्देश देला ?’ रावलको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘पार्टीमा को रहने, नरहने पनि बेग्लै कुरा हो, हामीमध्ये भविष्यमा को रहला, नरहला तर पार्टी रहने, पार्टीलाई अझ बलियो र एकताबद्ध बनाउने विषय ठूलो कुरा हो, अध्यक्षले यस्तै अभिव्यक्ति दिँदै जाने हो भने कालान्तरमा त्यसले पार्टीलाई नै क्षति पुर्याउँछ ।’ नयाँ पत्रिका बाट
कमेन्ट गर्नुहोस !