युद्धको घाउ

दीपक महत
मैले बगाउन खोजेका आँसु रोकेँ तर आमाले असरल्ल पोख्नुभयो । आमाको माया सन्तानप्रति कति हुन्छ सबै त कहाँ आँसुले मात्रै बताउन सक्ला र ! तैपनि आँखाबाट बगेका प्रत्येक थोपामा स्नेहका कति धेरै अनुपम मिठास लुकेका छन् । अनुमान हैन, मैले महसुस गरेँ । आफ्नोपनका भावना सर्लक्कै भरिएको पाएँ ।
२०५७ जेठ दोस्रो साता । एसएलसी पास गरेपछि हेल्थ असिस्टेन्ट पढ्न पश्चिम नेपालको अर्घाखाँचीबाट काठमाडौंका लागि हिडेँ । घरबाट निस्कँदे गर्दा प्राणप्रिय बहिनीहरू अँगालोमा कसिन आइपुगे । बुबाले म हिँड्ने दिनको साइत गाउँका एक पण्डितसँगको सल्लाहमा निकाल्नुभएको थियो । म उहाँकै सल्लाहमा सूर्यले धर्तीमा नटेक्दै हिडेँ ।
घरमा बुबा, आमा र तीन बहिनी आस्था, कृति र प्रतीक्षासहित म थियौँ । पढ्न म काठमाडौं हिँडेपछि, बुबा आमा र बहिनीहरू मात्रै घरमा हुनुभयो । गाउँको स्कुलबाट प्रथम श्रेणीमा प्रथम भई एसएलसीको फलामे गेट पार लगाएपछि म सहरमा पढ्नका लागि योग्य ठहरिएको हुँ, नभए तीनवटा विकल्पमध्ये एक छान्थेँ । त्यतिबेला माओवादी छापामार, सरकारी सेना÷प्रहरी वा इन्डियातिर पलायन हुनुपर्ने धेरै मजस्ता नेपाली युवाको बाध्यता थियो ।
मेरा धेरै साथीहरू माओवादी युद्धमा लागे । केही भने इन्डियातिर पनि गए तर, उनीहरू सरकारी फौजमा सामेल भएनन् । यसको राजनीतिक कारण मैले बुझिनँ या बुझ्ने चेष्टा गरिनँ ।
नेपालको राजधानी काठमाडौं । सुरुमा यहाँ आउँदा मैले चिनेका एकजना मात्रै थिए । जो गाउँबाट विस्थापित भई सहर पसेका थिए । उनी बसपार्कछेउको ठूलो नीलो रङको घरमा डेरा गरी बस्थे । उनीसँग मैले कोठाका लागि सहयोग मागेको अहिले पनि सम्झिन्छु । उनले नै एकैदिनमा मलाई बस्ने कोठाको प्रबन्ध गरिदिएका थिए ।
पछि उनी काठमाडौंमा नै मारिए । कसले किन मार्यो त्यो बुझ्न सकिएन । गाउँमा उनलाई सुराकी भनी मान्छे कर्के नजरले हेर्थे । त्यही भएर उनको माओवादीले सफाया गरेको रे ! म ढुक्कले भन्न सक्छु उनी नेता हैनन् तर राजनीतिक कार्यकर्ता भने थिए ।
उनको भित्री भूमिका मलाई थाहा भएन । थिएन पनि । उनी धर्तीमा नरहेको थाहा पाएपछि मन भने अमिलो भयो । समाचारमा दैनिक सुनिने लडाइँ, हत्या, हिंसा, आतंकको प्रभाव भने घटनाले नै देखायो ।
त्यस दिन म राम्ररी निदाउन सकिनँ ।
देशकै ठूलो सहर । रंगीन सपनालाई विपनामा उतार्न तयार छ, तर म तयार हुन सकिनँ । घरको न्यास्रो लागिरह्यो । बहिनीहरू के गर्दै होलान् ? स्कुल गए कि गएनन् ? बुबा–आमा कसको भारी बोक्न पुग्नुभयो होला ? घरमा गहुँ, मकै पो सिद्धियो कि ! साँझ के खानुहुन्छ होला ? कतै ऋण तिर्न नसकेको झोंकमा साहुको खप्की त खाँदै हुनुहुन्न ?
साहु आएको सुइँको पाउनासाथ बुबा लुक्नुभयो होला । आमा छिटै तिर्ने आश्वासन दिँदै हुनुहुन्छ होला । बहिनी आस्था र कृति बुझ्ने भएर मलिन भावमा आमाको बचाउमा लागे पनि प्रतीक्षा भने पक्कै उत्सुक भएर यी सारा संवाद सुनिरहेकी होली ! कलेज जाने बेलामा यी सबै कुरा मनमा एकैपटक आए ।
बुबा–आमा अरूको भारी बोक्न हिँड्नुका अतिरिक्त करेसाबारीमा थोर–बहुत फलेका तरकारी, फलफूलले हाम्रो जीविका चलाइरहनुभएको थियो । पढ्नुका अलावा यसमा मैले सक्दो सहयोग गरेँ । मभन्दा पछिका तीन बहिनीको लालपालन पनि त आफैंमा सकसपूर्ण नै थियो ।
लगातार नाम्लोको खपाइले बुबाको टाउकोमा कपालले अडिने सामथ्र्य गुमाइसकेका थिए । म बुझ्ने भएपछि सबैभन्दा बढी यही कुराले घोच्यो । प्रेरणाको स्रोत पनि यही बन्यो । परिणामतः एसएलसीमा स्कुल प्रथम र हेल्थ असिस्टेन्टमा छात्रवृत्तिमा नाम निकालेको थिएँ ।
काठमाडौं भीमसेनस्थानमा बस्थेँ । साथी महँगा थिए । उनीहरूसँग बसेपछि चिया मात्रै नभएर चुरोटको सर्को तान्नैपर्ने बाध्यता आइलाग्थ्यो । त्यसैले म उनीहरूसँग अनेक बहाना बनाई टाढिन्थेँ । बरु वसन्तपुर र हनुमानढोका घुम्थेँ । मन्दिरका पाटीमा गएर बुढापाकाका कुरा सुन्थेँ । उनीहरूका कुरा मेरा लागि किताबका अक्षरभन्दा माथि थिए ।
पढाइ राम्रो थियो । घर–परिवारसँग चिठी आदानप्रदान भइरहँदा मनले सन्तोक मान्थ्यो । घर जान मन लागे पनि पैसाको अभावमा गाउँ भने जान सकेको थिइनँ । एक महिना घरबाट चिठी आउन ढिलो भयो भने मनले अनेक सोच्थ्यो । त्यतिबेलाको विद्रोही माओवादीको त्रासले गाउँ गलेको थियो । सरकारको उपस्थिति गाउँमा थिएन । सदरमुकाको उँचो भागमा सरकारी सेना÷प्रहरी केन्द्रित भएका थिए । गाउँका चौकी जलेका थिए ।
देश लडाइँमा होमिएको थियो । आपसमा नेपाली÷नेपाली नै भिडिरहेका थिए । शासन व्यवस्थामा आमूल परिवर्तन, वर्गीय समानता यस्तै–यस्तै एजेन्डा माओवादीले उठाएका थिए । यसैका लागि उनीहरूले गोष्ठी र प्रशिक्षणमा तीव्रता दिइरहेका थिए । सरकार र विद्रोही पक्षबीच वार्ता भए पनि तीनले निष्कर्ष निकाल्न सकिरहेका थिएनन् ।
रेडियो सुन्थेँ । रेडियो नेपाल र बीबीसीमा यही द्वन्द्वका समाचार नै धेरै आउँथे । दोहोरो गोली हानाहान, हताहती, आक्रमण, समाचारका वाक्य यिनै हुन् । संख्या, ठाउँ र परिवेशमा मात्र फरक भए पनि विषयवस्तु प्रायः उही हुन्थ्यो ।
जर्जर बन्दै गएको जनयुद्धले सबै त्रासदपूर्ण जीवन बाँचिरहेका थिए । द्वन्द्वताका मान्छे खुलेर सायदै हास्थे । लागेको कुरा भन्न डराउँथे । बिहान खाना खाए पनि साँझ के होला भनेर कल्पना गर्न सक्दैनथे । कतिबेला विस्थापित बन्नुपर्ने हो ? यसकै डरमा हुन्थे । एक हिसाबले भन्नुपर्दा कोही पनि मानसिक र शारीरिक रूपमा सुरक्षित थिएनन् ।
०००
कलेजमा पढाइ राम्रो हुन्थ्यो त्यसैले पनि मैले पढाइमा राम्रै गरिरहेको थिएँ । तैपनि दिनदिनै देशभित्रको अशान्तिले भने देशको चिन्ता लाग्थ्यो । नेपालीबीचको आपसी भाइचारा, आत्मीयता र विश्वास विखण्डित हुँदा शान्तिको श्वास कहिले फेर्न पाइएलाजस्तो हुन्थ्यो ।
देशैभरि चन्दा आतंक । हुनेलाई त ठीकै होला, तर नहुनेले पनि दिनैपर्ने ! सायद यति ठूलो लडाइँ चानचुने कुरा पनि थिएन । जे गर्दा पनि पैसा नै चाहिन्थ्यो होला । त्यसैले माओवादीले पैसाको व्यापक चिट काट्न थाले । यसको चपेटामा हाम्रो कलेज पनि पर्यो ।
सबै विद्यार्थीलाई आकस्मिक रूपमा कलेजले आफ्नो हलमा भेला पार्यो । कलेजका प्रिन्सिपलले मलिन भावमा चन्दा आतंककै कारण सबैको शुल्क बीस हजारका दरले बढाएको सुनाए । उनले थप प्रस्ट पारे– ‘यो छात्रवृत्तिसमेत पाउनेको हकमा लागु हुन्छ ।’
उनी यतिमै मात्र रोकिएनन् । आफ्नो बाध्यता पनि सुनाए । मैले उनले बोलेका कुरा सुन्ने धैर्यता गुमाएँ । विद्यार्थीहरू सबै शान्त मुद्रामा रहे । हलको अन्तिमतिर बस्नेले पैसा धेरै भयो भनेर सानो स्वरमा भने पनि प्रिन्सिपलले सुने । प्रतिउत्तरमा विकल्प नरहेको र तिर्न नसक्ने विद्यार्थीलाई पढाउन नसक्ने बताएर उनी आफ्नो कक्षतिर लागे ।
सास रोकिएलाजस्तो भयो । कलेजबाट कोठासम्म आएको सम्झना छैन । यत्तिकै बिस्तरामा पल्टिरहेँ, टोलाइरहेँ । पहिलोपल्ट हो मैले आफैंलाई यति गलेको भेटेको । त्यसदिन नखाई सुतेँ ।
बिहान अबेर उठेँ । कलेज नजाने निर्णय लिएकाले कुनै हतारो थिएन । यति धेरै पैसा मेरो र परिवारको क्षमताभन्दा धेरै परको कुरा थियो । बिहान ११ बजेतिर झोँछेको गल्ली हुँदै सुन्धारातिर लागेँ । घरबाट चिठी नआएको पनि २ महिना बितिसकेको थियो । हुलाकमा गएर मेरो नामको चिठी खोजेँ । संयोगले उतिबेलै भेटाएँ । खामको बाहिर मेरी ठूली–बहिनी आस्थाका अक्षर थिए, जो ९ कक्षामा पढ्थिन् ।
धरहराको पार्कमा बसेँ । काठमाडौंमा कसैलाई कसैको अनुहार हेर्ने फुर्सद त हुन्न । झन् मेरो अनुहार पढ्ने समय कसलाई हुनु । अझ मेरो चिठीको अक्षरसम्म कसको ध्यान पुग्नु !
त्यसैले चिठी त्यहीँ खोलेँ ।
“प्रिय दाइ, क्रान्तिकारी लाल अभिवादन,
म सन्चै छु भनेर कसरी भनौँ, देश बिरामी छ । वर्षौंदेखि गरिबी, अत्याचार, शोषण, दमनले थिचिएको छ, पिल्सिएको छ । यही देशको उपचार गर्नका लागि नेपाल आमाका मजस्ता वीर सन्तान महान जनयुद्धमा होमिएका छौँ । देशलाई हाम्रै पालामा ठीक पार्ने प्रण कसेका छौँ । समतामूलक नेपाल निर्माणको अभिभारा हाम्रो काँधमा आइपुगेको छ । यो कालखण्डमा हामी चुक्यौँ भने देशले धिक्कार्नेछ । प्यारो मातृभूमिको पाप बोक्न हामी किमार्थ तयार छैनौँ बरु प्राणको आहुति दिन जतिबेलै तयार छौँ । देशले आवश्यकता महसुस गरेको बेला कायरता देखाउने वीर गोर्खालीको परिचय हुन सक्दैन । विश्वयुद्धको बेला विश्वको जुनसुकै भूमिमा गएर आफ्नो अस्तित्व जीवित राखेको हाम्रो गौरवको इतिहास दाइलाई मैले सायद भनिरहनु नपर्ला । हाम्रा पुर्खा त्यत्तिकै भिक्टोरिया क्रसका लायक बनेका थिएनन् । जैथकको युद्ध, देउथलको युद्ध, अल्मोडा युद्ध, नालापानी युद्धमा के नेपालीले सानो छाती बनाएका थिए । अहँ अवश्य थिएनन् । बरु अंग्रेजहरूले नालापानीमा नेपालीको वीरताको कदर गर्दै ‘हाम्रा वीरशत्रु वीर बलभद्र र उनका वीर गोरखा साथीहरूको स्मृतिमा सम्मानोपहार’ भनेर स्मारकमा लेख्न बाध्य भएका थिए । पराइसँग भन्दा आफ्नासँग लड्न गाह्रो हुन्छ यो थाहा नै छ । त्यही भएर सम्पूर्ण देशभित्रका देशभक्त नेपाली सामन्तका विरुद्ध तमाम काम थाती राखेर एकजुट हुनैपर्ने चर्को आवश्यकता छ ।
महान् जनयुद्धको यो सघन समयमा हामीले तय गरेको बाटो, उठाएका एजेन्डा तथा कारबाही जनपक्षीय नै छन् त्यसैले जनताको भारी मत हाम्रो पक्षमा छ भनेर बुझ्न न त चुनाव नै आवश्यक छ न त जनमत संग्रह नै । हामी यतिबेला फेरि अर्को भीषण कारबाहीको अन्तिम तयारी गरिरहेका छौँ । सायद यसले सामन्तको थोरै बचेको मनोबल पूरै ढल्नेछ । शाही सत्ताले घुँडा टेकेर जनसत्ता आएको दिन खुसी जताततै दौडिनेछ । त्यही दिनपछि हामी सबै स्वतन्त्र बनेर विजयका राता झन्डा फर्फराउनेछौं । ….”
चिठी निकै लामो थियो । थप पढिनँ ।
यत्ति बुझेँ । बहिनी क्रान्तिकारी बन्न पुगी । सानै लाग्थ्यो तर उसले चिठीमा लेखेको भाषा, व्यक्त गरेका भावना साँच्चै कुनै मानेमा साना थिएनन् । गहिरो अर्थ राख्ने शब्दमा माओवादी प्रशिक्षणको दह्रिलो पक्ष फेला पारेँ ।
म दोधारको भूमरीमा फसेँ । घर जाउँ या काठमाडौं नै बसौँ । यहाँ जागिर गरेर कलेजको यतिधेरै शुल्क तिर्न सक्ने अवस्था नै थिएन । फेरि जागिर पाउने कुरा त्यति सजिलो पनि कहाँ थियो र । बरु कतै ऋण पाइए गाउँतिरबाट ल्याएर कलेजको शुल्क तिरी पढाइ अगाडि बढाउने सोचेँ ।
बहिनीको चिठीमा घरपरिवारको कुरा केही उल्लेख थिएन त्यसैले पनि अर्को तनाव थपिएको थियो । बहिनी घरबाट हिँडेपछि बुबाआमाको अवस्था कस्तो भयो होला ? बहिनीले किन कलिलै उमेरमा मेरो सल्लाह नै नमागी माओवादी युद्धमा सामेल हुने निर्णय गरी ? यी यावत् अनुत्तरित प्रश्नको जवाफ काठमाडौंले दिने सामथ्र्य राख्दैनथ्यो । त्यसैले म घर जानका लागि त्यही दिन बसपार्क गएँ ।
साँझ ६ बजेको गाडीमा अर्घाखाँचीका लागि हिँडेँ । धेरै ठाउँमा चेकिङ हुन्थ्यो । माओवादीको आशंकामा मलाई शाही नेपाली सेनाले केरकार गरे । मलाई मात्रै हैन गाडीमा बसेका केही युवायुवतीमा तिनको ध्यान गहिरो हुन्थ्यो । मेरो खल्तीमा बहिनीले लेखेको चिठी थियो तर संयोगले त्यो उनीहरूले भेट्याएनन् । नभए अवस्था फरक हुन सक्थ्यो ।
०००
घर नपुग्दै अलि तल आमालाई हाम्रो बारीमा पानी लगाउँदै गरेको भेटेँ । कान्छी बहिनीले टाढैबाट दाइ नमस्ते भनी । ऊ खुसी हुँदै मेरो छेवैमा आइपुगी । आमा मलाई एक्कासि देखेपछि अलमलमा पर्नुभयो । मैले आमालाई ढोगेँ । छोरा ठूलो मान्छे भएस् भन्ने आर्शीवाद दिने आमाको मुखबाट बोली निस्केन । बरु मैले मनमनै आमाले आशिष दिएको अनुभूति गरेँ ।
कान्छी बहिनी प्रतीक्षा, म घर आएको खबर भन्न दौडिँदै गाउँतिर लागी । आमाले गर्न लागेको काम छोड्नुभयो । घरै जाऔँ भनेर सरासर अघि बढ्नुभयो । आमाको चिन्तित मानसिकता मेरो मस्तिष्कभरि नाच्न थाल्यो । उहाँको बोली पहिलेको जस्तो थिएन । ठाउँ–ठाउँमा लर्बरिएको थियो भने स्वर पनि सुकेको थियो । मुहार फुङ उडेको ।
हामी घर नपुग्दै आँगनमा गाउँले भरिएको देखेर म अचम्ममा परेँ । मैले गाउँले सबैलाई साइनोअनुरूपको ढोक र नमस्कार गरेँ तर कसैबाट अपेक्षाकृत व्यवहार पाउन सकिनँ । सबैको ध्यान म भएतिर पर्न थाल्यो ।
कसैले सन्चो बिसन्चो सोधेनन् बरु मलाई सात्वना दिन तम्सिए । यो सब केका लागि हुँदै छ भनेर मैले भेद खुट्याउन सकिरहेको थिइनँ । ठूली बहिनी आस्था माओवादी युद्धमा हिँडेको बाहेक अर्थोक मैले सोच्दै सोचिनँ । थाहा पनि भएन ।
‘बाबु, कति छिट्टै चिठी पाएछौ है ।’ तल्लाघरे साइँला बोले । मैले सहमति जनाउन टाउको हल्लाएँ । बीचमै हाम्रो गाउँको स्वास्थ्य चौकीमा पियन पदमा काम गर्ने देवका काकीको मसिनो स्वर सुनेँ । उनले हुलाक बन्द भएकाले चिठी पठाउन नसकिएको बताइन् ।
अब मैले बुझेँ । चिठी त मैले बहिनीले एक महिनाअघि पठाएको पाएको थिएँ तर यहाँ त हिजोआज लेखिएको चिठीको कुरा पो हुँदै छ । अनायासै खुट्टा काम्न थाले । शरीरबाट चिट्चिट पसिना निस्कन थाले ।
यताउती टाउको एकटहमा घुमाएँ । देखिनुपर्ने धेरै अनुहार भेटिनँ । बुबा र माइली बहिनी कृति कतै देखिनँ । काममा जानुभयो होला भनेर चित्त बुझाएँ । गाउँका मेरा अत्यन्तै मिल्ने वीरे, सागर, राजन, हिमाली, सम्झना पनि देखिनँ । उनीहरू गाउँ हुँदा मेरा अत्यन्तै मिल्ने नजिकका साथी थिए ।
सबैको बीचबाट आमा सुँकसुँक गर्दै भित्र पस्नुभयो । मेरा आँसु त्यही टिलपिलाए । कान्छी बहिनी प्रतीक्षा मसँग टासिँदै अँगालोमा कसिई । मैले मनलाई थाम्न सकिनँ । उसले ‘दाइ, बुबा र दिदी खोई ?’ भनेर उल्टै ममाथि प्रश्न तेस्र्याई ! मैले सोध्ने प्रश्न बहिनीको मुखबाट सुन्दा भाउन्न भएर आयो ।
गाउँका दिनेश अंकल कट्टर कांग्रेसी हुन् । हामी भने राजनीतिमा आबद्ध थिएनौँ । २०५१ को आमनिर्वाचनमा एमालेलाई भोट दिएका कारण सबैले एमाले नै भन्थे ।
ठूली बहिनी माओवादीमा हिँडेको भएर कोही हामीलाई माओवादी पनि देख्दा हुन् तर, वास्तवमा कुनै पार्टीप्रति पनि हाम्रो झुकाव थिएन । पार्टीगत् रूपमा आफ्नो र पराइ भनी कसैलाई हाम्रो आँखाले हेरेन ।
उनै दिनेश अंकल पनि हाम्रो घरको आँगनमा आइपुगेका थिए । अरूले निकाल्न नसकिरहेको कुरा उनले बोले । मैले सुनिरहेँ ।
‘हेर बाबु ! देशको अवस्था तिम्लाई थाहै छ । जे नहुनुपर्ने त्यो त भइसक्यो । यो बेला बडो सोचेर विचार पुर्याएर अगाडि बढ्नुपर्छ । गाउँमा फेरि तिम्री माइली बहिनी कृति मात्रै त हैन अरू पनि कैयौँ बहिनीहरू मारिएका छन् । तिम्रा बाबुजस्ता धेरैका बाबु बेपत्ता पारिएका छन् । म पनि धेरैपटक कालको मुखमा परेर बाँचेको छु ! हेर, दिन नआउँदासम्म नै हो बाँचिने । नत्र जे गरे पनि कालले लगेरै छाड्छ । त्यसैले तिमी घरको बुझ्ने, पढेको, शिक्षित मान्छे, अब आफू मात्रै हैन तिम्रो परिवार र गाउँलेलाई पनि सम्हाल्न सक्नुपर्छ ।’
माइली बहिनी कृति नरहेको, बुबा बेपत्ता पारिएको भेद खुल्यो, तर कसरी !
उनैले घटना सविस्तार लगाए ।
‘०५९ भदौ १३ गतेको दिन :
स्थान– ठूलाचौर ।
मौसम धुम्म । आकाश बादलले भरिएको । आफूसँग कब्जा गरेर राखेको छ बादलले पानीका फोकालाई । ती जमिनमा छोडिन मात्र बाँकी छन् । धर्तीमा बसेका हामी सजीव, निर्जीव ती कतिखेर असिना÷पानी बनेर बर्सिने हुन्, यसैको पर्खाइमा बसिरहेजस्तो भएको थियो, त्यसदिन ।
अर्कोतिर तिजको चटारो । महिलाको महान् चाड तिजमा दिदीबहिनीको आवागमनले गाउँ हर्षमा थियो । यसैको छेकोमा गाउँको पारि ठूलाचौरमा मेला लागेको थियो । महिला दिदीबहिनी आफ्ना सुख, दुःखका पोका गीतमार्फत खोलिरहेका थिए ।
त्यत्तिकैमा एक हुल माओवादी छापामार पनि खै कहाँबाट मेला भर्न आइपुग्छन् । रमाइलोसँगै केही त्रास पनि थपिन्छ । तिनीहरूमध्ये कोही मादल बजाउन थाल्छन् । कोही भेष बदलेर नाच्न । एकैछिनमा घाँसे ड्रेसमा सजिएका सेनाको प्रवेश हुन्छ । मान्छे भागाभाग गर्छन् ।
गोलीको ड्याम्म ड्याम्म… आवाज सुनिन्छ ।
भाग्न सक्नेहरू भागे । संयोगले बाँच्नेहरू बाँचे तर केही समय अघिसम्म रमाइलो गरिरहेका कतिले जीवनको अन्तिम सास त्यही फेरे ! गाउँमा सन्नाटा छाउँछ । रूवाबासी चल्छ ।
तेरा बुबासहित पर काइँलो र माथि सागरलाई पनि त्यही दिन सेनाले लगेका हुन् । त्यसपछि कुनै अत्तोपत्तो छैन । त्यसदिन रेडियोमा सुनेको भन्दा बढी भयो । यहाँ सम्झना, तेरी माइली बहिनी कृति पनि आतंककारी भन्दै मारिए । विचरा भर्खर बुबाले किनिदिएका कपडा लगाएर गएकी माथि रामेकी छोरी सम्झना त्यसदिन कत्ति खुसी थिई तर घर फर्कन नपाई स्वर्गे भई ।’
उनले ‘तैंले काठमाडौंमा समाचार सुनिनस् ?’ भनेर मसँग उत्तर मागे ।
मैले नसुनेको जवाफ बेचैन हुँदै फर्काएँ ।
उनले फेरि थपे– ‘हेर, त्यसदिन साँझ माओवादी आएर गाउँमा कम्ता गरे । म धन्न लुकेर बाँचे । नभए त मलाई तिनीहरूले जिउँदै जलाउँथे । मलाई कतै यसले सुराक लगाइदियो कि भनेर आशंका गरेका । पछि मैले भेटेर उनीहरूलाई विश्वस्त बनाएँ र म आफैं पनि माओवादी बनेँ ।’ उनले आफ्नो केहीअघिको भूत र अहिलेको वर्तमान पनि बताए ।
‘मैले नै हो गाँउमा अब यो सेनाको अत्याचार बढी भयो भनेर भनेको । नभए के तिनीहरूले सर्वसाधारण पनि भएको ठाउँमा गोली बर्साउन मिल्छ ? आफैं प्रश्न गरेँ । बदला लिन, क्रान्तिमा होमिन तेरी जेठी बहिनी आस्थालगायत गाउँका वीरे, राजन, पल्लारे कान्छो त्यसबेलादेखि हो घर छोडेर हिँडेको ।’ उनले यत्ति बोलेर आफ्नो कुरा टुंग्याए ।
मैले प्यारी बहिनी आस्थाले लेखेको चिठी सम्झेँ । सायद बहिनीले यी सबै कुरा त्यहाँ उल्लेख गरेकी थिई होली, तर मैले त्यो सबै पढिनँ । कुनै दिन पढौँला भनी मन बुझाएँ । मनले अर्को कुरा सोचिरह्यो बहिनी साँच्चै क्रान्ति जितेर फर्कली या हारेर ! आखिर जे भए पनि म सदैव बहिनीको पक्षमै थिएँ । उसले क्रान्तिका खातिर प्राण उत्सर्ग गर्न पनि तयार रहेको भनेर लेखेकी थिई । मैले आत्मैदेखि बहिनीको प्राणलाई क्रान्तिको इँटा सम्झेँ ।
साँझ पर्यो । सबै घरतिर लागे । म, कान्छी बहिनी र आमासँगै आँसुको आहालमा डुब्यौँ । आमाले बरोबर ‘अब बाँचेर अर्थ नभएको’ भनिरहनुभयो । बहिनी मेरो काखमा सुकसुक गर्दा गर्दै निदाइ । लाग्यो, बहिनी दाइको भरोसाले मिठो निद्रामा परी । हामी भने राति अबेरसम्मै सुखभन्दा बढी दुःखका कुरा गरिरह्यौँ । पीडा र चोटका भावना ओकलिरह्यौँ ।
दिनहरू बिते तर बुबा फर्किनुभएन । न त बहिनीले क्रान्ति जितेको खबर सुनाउन आई । मेरो पढाइ छुट्नु, न्याना सपना माथि चिसो पानी खन्याइनु, आमाको बाटुलो अनुहार साँघुरिनु, हुर्कँदै गरेकी कान्छी बहिनीको बाल मस्तिष्कमा मनोवैज्ञानिक असर पर्नु र अरू धेरै आशाभन्दा बढी निराशाले घेरिनु पनि त सबै परिस्थितिकै उपज थिए !
-महतको यो लेख बाह्रखरीबाट लिइएको हो ।
कमेन्ट गर्नुहोस !