‘नेपालमा देखा परेकाे नयाँ ‘भेरियन्ट’ बेलायतमा भेटिएकाे भन्दा ५० प्रतिशत बढी सङ्क्रामक’

काठमाण्डाै – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ भाइरसको नयाँ (तेस्रो) भेरियन्ट निकै सङ्क्रामक रहेको बताएको छ । नेपालमा गएकाे हप्ता कोभिड–१९ सङ्क्रमितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिङ गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा (१ वटा) बि.१.६१७.१ पुष्टि भएसँगै नेपालमा कोभिड–१९ को तेस्रो भेरिएन्ट फैलिएकाे पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि (हिजाे) मङ्गलबार एक विज्ञप्ति निकाल्दै नेपालमा तेस्रो भेरियन्ट रहेकोबारे जानकारी गराइसकेको छ ।

यसै सन्दर्भमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यसअघि देखा परेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी सङ्क्रामक रहको बताएकाे छन् । बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डाक्टर कृष्ण पौडेलले सुरुमा बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी सङ्क्रामक रहेको बताउनुभयो । यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समूहमा उच्च सङ्क्रमण रहेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रारम्भिक अध्ययनहरूले यो सर्ने दर अन्य भेरियन्ट भन्दा उच्च छ भन्ने देखियो । जुन अप्रत्यक्ष रूपमा नेपालमा सङ्क्रमण बढेको दर, भारतमा बढेको दरले पनि अप्रत्यक्ष रूपमा हामी याे अलि बढी सङ्क्रामक छ भन्ने निष्कर्षमा पुग्न सक्छौँ । केही अध्ययनहरूमा बेलायतको मेडिकल जर्नलमा/ब्लगमा उहाँहरूले लेखेकोअनुसार बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट अझै ४० देखि ५० प्रतिशत बढी सङ्क्रामक छ भनेर आकलन गरिएको छ । उमेर समूह हेर्ने हो भने २० देखि ४४ वर्ष उमेर समूहमा उच्च दरमा सङ्क्रमण छ, बढी छ । सङ्क्रमणको मुख्य हिस्सा यो उमेर समूहमा छ । यसले उमेर समूहको हिसाबले बलिया मानिएका उमेर समूहमा पनि बढी नै असर गर्छ, जटिलता ल्याउँछ । कुनै पनि उमेरलाई यसले छोड्दैन भन्ने अप्रत्यक्ष रूपमा देखिन्छ ।’

डा. पौडेलले अहिले कोभिड विरुद्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रूपमा यस भेरियन्टको जटिलता कम गर्न र मृत्यु दर कम गराउन प्रभावकारी हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोभिशिल्ड खोप तुलनात्मक हिसाबले यो भेरियन्टमा पनि जटिलता कम गर्न र मृत्यु दर कम गराउन सहयोगी/प्रभावकारी छ भन्ने बुझिन्छ । खोपको प्रभावकारिता राम्रै देखिएको छ ।’

उहाँले सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने तथा सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्ड पालना गरेरमात्रै कोभिड– १९ को तेस्रो भेरियन्टबाट बच्न सकिने भन्दै जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने पनि बताउनुभयो ।उज्योलो बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close