पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा ब्रेक

काठमाण्डौं ,साउन ०७ ।नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोकेको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दुईदिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन उचित नहुने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावमा तीन नेताले असहमति जनाएका थिए । तर, प्रस्ताव बहुमतले पारित भएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।“अध्यक्ष केपी शर्मा ओलीज्यूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाउनुभयो,” प्रचार विभाग प्रमुख गौतमको भनाई छ ।
एमालेले भण्डारीलाई पूर्वराष्ट्रपतिकै हैसियत सम्मान गर्ने बैठकको निर्णय छ । “पूर्वराष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, देशको अभिभावक हो,” गौतमले भने, “यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने केन्द्रीय कमिटीले निष्कर्ष निकालेको छ ।
तीन नेताको असहमति
एमाले उपाध्यक्ष युवराज ज्ञवाली, अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले निर्णयबारे असहमति जनाउँदै फरक मत राखे ।ज्ञवालीले भण्डारीलाई सक्रिय राजनीतिमा आउनबाट रोक्ने निर्णय अहिले नै नरोक्ने प्रस्ताव गरेका थिए ।
कमेन्ट गर्नुहोस !