अर्घाखाँचीमा निजि वन स्थानीय तहमा दर्ता हुन सुरु

सागर महत जेठ०९,अर्घाखाँची ।
अर्घाखाँचीमा पनि निजि वन स्थानीय तहमा दर्ता हुन थालेको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहन प्रसाद श्रेष्ठले बताउनुभएको छ ।यो अभियान शितगंगा नगरपालिकाबाट सुरु भएको र अन्य पालिकामा पनि दर्ता गर्न सकिने बताउनुभएको छ ।
शितगंगामा मात्र करिव ४० वटा निजी वन दर्ता भएको उहाँको भनाइ छ ।निजी वन प्रवद्र्धन तथा व्यवस्थापनमा कृषकहरूलाई सशक्त बनाउने उद्देश्यले सन्धिखर्कमा आयोजित निजी वन दर्ता सम्बन्धि संघ संस्था कृषकहरूको क्षमता अभिवृद्धि गोष्ठी कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
यस अघि निजि वन डिभिजन वन कार्यालयमा दर्ता हुने गरेका थिए ।गोष्ठीमा विभिन्न संघ संस्थाका प्रतिनिधि, निजी वन विकासमा संलग्न कृषक लगायतको सहभागीता रहेको थियो ।कार्यक्रममा निजी वन दर्ता प्रक्रिया, कानुनी पक्ष, फाइदाहरू तथा वातावरणीय प्रभावका बारेमा विस्तृत जानकारी गराइएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ।
निजी वनको महत्त्व, दर्ता प्रक्रिया सरल र पारदर्शी बनाउनुपर्ने आवश्यकता र दीर्घकालीन वन व्यवस्थापनमा कृषकहरूको भूमिका लगायतका विषयमा पनि सहजीकरण गरिएको हो। बरिष्ट वन अधिकृतहरु गणेश थारु,उमेश शाहले पनि कार्यक्रममा सहजीकरण गरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी केशव खड्काले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजना र सम्बृद्धिका लागि वन परियोजना लुम्बनी प्रदेशको आर्थिक सहयोगमा कार्यक्रम गरिएको उहाँको भनाइ छ ।
कमेन्ट गर्नुहोस !