नेपाली सेनाको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बुटवलमा सुरु

गोपालप्रसाद भट्टराई ,अर्घाखाँची lनेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी बनाउने उद्देश्यले सेनाको ४ दिने अभिमुखिकरण तालिम बुटवलमा सुरु भएको छ।मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलमा आइतबारदेखि सुरु भएको यो कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका २० जना रक्षा संवाददाताहरूलाई सहभागी गराइएको छ ।
मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलका पृतनापति उपरथी प्रेम बहादुर पूनले कार्यक्रमको शुभारम्भ गर्दै आफ्नो अमूल्य समय दिई सहभागी भएका रक्षा संवाददाताहरुलाई धन्यवाद प्रकट गर्नुभएको छ । नेपाली सेना र सञ्चार माध्यमबीचको आपसी सहकार्य तथा सम्बन्ध विस्तार गर्ने कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेनाले यस प्रकारको अभिमुखिकरण कार्यक्रम संचालनमा ल्याएको उहाँले प्रष्ट पार्नुभयो ।
नेपाली सेनाले गरेको कामलाई आम नेपाली जनतासमक्ष पुर्याउन सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको पृतनापति उपरथी पूनको भनाई छ । संचारकर्मी र नेपाली सेनाबीच समन्वय आवश्यक रहेको भन्दै सत्यतथ्य समाचार संप्रेशण गर्न पत्रकारहरुलाई उहाँको आग्रह समेत रहेको छ ।
अभिमुखीकरण कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रिया सहितको जानकारी मूलक कार्यक्रम सञ्चालन गरिने जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्ङी अड्डाका सेनानी रविन राईले जानकारी दिनुभएको छ ।
कार्यक्रमको पहिलो दिन आज बुटवलका अग्रज पत्रकार डाक्टर बालकृष्ण चापागाईंले पत्रकारिताको अनुभव र पत्रकार आचार संहिताबारे प्रस्तुतीकरण दिनुभएको छ ।
महासेनानी मचिन्द्र थापा मगरले नेपाली सेनाको परिचय, स्थापना, जिम्मेवारी क्षेत्र, सीमाको स्तम्भ, पृतनालाई प्राप्त जिम्मेवारी लगायतको विषयमा प्रस्तुतीकरण दिनुभएको छ ।
यस्तै मेजर रविन राईले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रमको महत्व, जनसम्पर्क तथा सूचना निर्देशनालयको जिम्मेवारी, नेपाली सेना र सञ्चार जगतसँग समन्वय लगायतको विषयमा प्रस्तुतीकरण दिनुभएको छ ।
कार्यक्रममा नेपाली सैनिक रेडियो कार्यक्रमका प्रस्तोता (सुबेदार) सुदिप ढकालले संचालन/सहजीकरण गर्नुभएको छ ।
तालिमकै सिलसिलामा नेपाली सेनाले ऐतिहासिक पाल्पा दरबार (सङ्ग्राहलय), रानीमहल र ऐतिहासिक जितगढी किल्लाको भिजिट समेत गराउनेछ ।फागुन २५ गते आइतबारदेखि फागुन २८ गते बुधबार सम्म संचालन हुने अभिमुखिकरणमा मध्यपश्चिम पृतना अन्तरगत पर्ने १३ जिल्लाका २० जना पत्रकार तथा संचारकर्मीहरुको सहभागिता रहेको छ ।
कमेन्ट गर्नुहोस !