बाँगीमा कृषकलाई गड्यौलाबाट कम्पोस्ट मल बनाउने तालिम संचालन

सागर महत,सन्धिखर्क ।
घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनमा सिपमा आत्म निर्भर बनेर कृषकलाई आयआर्जनमा टेवा पुगोस भनेर गड्यौलाबाट कम्पोस्ट मल बनाउने तालिम संचालन गरिएको छ ।मालारानी गाउँपालिका वडा नम्बर ५ र ७का अगुवा कृषकको लागि बाँगीमा गड्यौला र प्रविधि हस्तान्तरण सहितको तालिम संचालन गरिएको कार्यालयका अधिकृत सन्तोष खनालले बताउनुभयो ।
पछिल्लो समय गाउँ घरमा गाई भैंसी लगायतका बस्तु भाउ पालनमा कमी हुँदै गएको र रासायनीक मलको प्रयोग अत्यधिक बढ्दै गएकाले गड्यौलाबाट कम्पोस्ट मल बनाउने तालिम निकै प्रभावकारी हुने मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले बताउनुभयो।
कम्पोस्ट मलको व्यावसायिक खेती गर्न सके रासायनिक मलको प्रयोगलाई न्युन गर्न सकिने र यो अभियान सफल पार्न गाउँपालिका पनि लाग्ने गाउँपालिका अध्यक्ष भट्टराईको भनाइ छ ।
कार्यक्रममा वडा अध्यक्ष तुल्सीराम मिश्र (तिलक)ले ५ नम्बर वडामा व्यवसायीक रुपमा कृषि गर्ने कृषक धेरै भएकाले यो तालिम निकै फलदायी हुने उहाँले बताउनुभयो ।
सिपको सही सदुपयोग गर्न वडा सदस्य हुम बहादुर महतले तालिममा सहभागीलाई आग्रह गर्नुभयो । कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका सुचना अधिकारी लक्ष्मी प्रसाद दाहालको संचालनमा तालिम सुरु भएको छ।
कमेन्ट गर्नुहोस !