गुणस्तर औषधि खरिद गर्न आवश्यक रहेको बिमा वोर्डका सदस्य श्रेष्ठको भनाइ

सन्धिखर्क । नेपाल स्वास्थ्य बिमा वोर्डका सदस्य डाक्टर मुक्तिराम श्रेष्ठले स्वास्थ्य विमालाई थप व्यवस्थित बनाउन लागिएको बताउनुभएको छ । प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो।यस्तै औषधि खरिद प्रक्रियामा टेन्डर प्रक्रियामा जाँदा कम गुणस्तरको औषधि भएको गुनासो आउने गरेको छ ।यो प्रक्रिया सुधार गरेर अगाडि लगेमा नागरिकले गुणस्तर भएको औषधि खरिद गर्न पाउने उहाँले बताउनुभयो ।अब यसलाई सुधार गरेर लैजाने अभियानमा आफु रहेको बताउनुभयो ।
यस्तै स्वास्थ्य बिमा गरेपछि १ लाख रुपैयाँ खर्च गर्नै पर्छ भन्ने मान्यता मौलाएर अनावश्यक चेकअप गर्ने प्रवृत्ति बढेको उहाँको भनाइ छ।बिमाको खर्च सक्नैपर्ने उद्देश्यले बिरामी र स्वास्थ्यकर्मी दुवैले अनावश्यक परीक्षण गराई बिमाको रकम सक्ने गरेको जानकारी आएपछि बोर्डले नयाँ निर्णय लिन बाध्य भएको स्वास्थ्य बिमा बोर्ड सदस्य डाक्टर श्रेष्ठले बताउनुभयो।
हालको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत वार्षिक ३५ सय तिरेबापत एउटा परिवारले १ लाख रुपैयाँ बराबरको सुविधा पाउँछन्। तर नयाँ नीति अनुसार उपचार गरेको कुल खर्चमध्ये १० प्रतिशत बिमितले तत्कालै सम्बन्धित स्वास्थ्य संस्थामा तिर्नुपर्नेछ।अझै पनि ग्रामीण भेगमा स्वास्थ्य बिमाको बारेमा पुर्ण रुपमा जानकारी नहुँदा सबै मानिसहरु जोडिन नसकेको बताउनुभयो ।
कार्यक्रममा दिगो विकास केन्द्रका अध्यक्ष डाक्टर जय बहादुर टण्डनले अर्घाखाँचीका विभिन्न भागमा मोतिया बिन्दुको निशुल्क आँखा शिविर सञ्चालन गरेको बताउनुभयो ।
जिल्लाका गाउँ गाउँमा स्वास्थ्य सुविधा प्रदान गर्न लागि परेको बताउदै कोभिडको समयमा जिल्लाका ग्रामीण क्षेत्रमा १० वटा स्वास्थ्य चौकीमा १० वटा कन्सल्टेटर मेसिन प्रदान गरेको बताउनुभयो ।
कमेन्ट गर्नुहोस !