आज बुद्धजयन्ती पर्व विभिन्न कार्यक्रम गरेर मनाइदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज मनाइँदै छ । भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरुद्वारा परम्परादेखि हुँदै आएको पूजालगायत कार्य गरेर बुद्धजयन्ती मनाइँदै छ । लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती विशेष रूपमा मनाइँदै छ ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६६ वर्षअघि कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दैछन् । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रधानमन्त्री दाहालले मूल समारोहको उद्घाटन गर्न लागेका हुन ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार बिहान ९ बजे प्रधानमन्त्री दाहालले मूल समारोहको उदघाटन गर्नेछन् । उनकाअनुसार कार्यक्रम तीन दिनसम्म चल्नेछ ।
कमेन्ट गर्नुहोस !