मतदाता नामावली शुद्धिकरण : २ लाख १५ हजारको नाम ‘कट’

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सूचीबाट २ लाख १५ हजार ४ सय ३४ मतदाताको नाम हटाएको छ । आयोगले मतदाता नामावली शुद्धीकरणअन्तर्गत २ लाख १५ हजार ४ सय ३४ जनाको नाम मतदाता नामावली सूचीबाट हटाएको हो ।
त्यस्तै, आयोगले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि स्थगित नयाँ नामावली दर्ता र अद्यावधिक कार्यसमेत सुचारु गरेको छ । आयोगले गत २ माघबाटै नामावली दर्ता र नामावली अद्यावधिक गर्न सुरु गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता नामावलीमा दोहोरो नामावली रहेका र मृत्यु भइसकेका मतदाताको नामावली मतदाता नामावलीबाट हटाएको जानकारी दिए ।
‘विगतका दिनमा कतिपयको नाम नामावली सूचीमा दोहोरिएको गुनासो आयो, कतिले स्वर्गबाट पनि मत हाले भन्ने गुनासो गरे, त्यसपछि आयोगले मतदाता नामावली शुद्धीकरण गर्न नाम दोहोरिएका र मृत्यु भइसकेकाको नाम सूचीबाट हटाउने प्रक्रिया थालेको हो,’ आयोग प्रवक्ता पौडेलले भने ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
कमेन्ट गर्नुहोस !