अर्घाखाँचीमा २४ करोड भन्दा बढी मुल्यको सुन्तला उत्पादन

सागर महत /अर्घाखाँची । व्यावसायिक रूपमा सुन्तला खेती गर्नेको संख्या बढ्दै गएपछि यस वर्ष अर्घाखाँचीमा २४ करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ ।

मनग्य आम्दानी हुने थालेसँगै यहाँका स्थानीयले अन्य खेती छाडेर सुन्तला खेतीमा आकर्षित भएका छन् । जिल्लाको पाणिनी गाउँपालिकाको पणेना, पोखराथोक, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ, खन, साकिन्धारालगायतका ठाउँका कृषकको मुख्य स्रोत सुन्तला खेती हो ।विशेष गरी पाणिनी गाउँपालिका–१ को पणेनाको गाउँमा अन्य खेतीभन्दा सुन्तला खेती बढी गरिन्छ । २०७२ देखि व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आउनुभएका पणेनाका नारायण पौडेलले गतवर्ष ७ लाखको सुन्तला बिक्री गर्नुभएको थियो । यस वर्ष त्योभन्दा पनि बढ्ने उहाँ बताउनुहुन्छ ।

पाणिनी गाउँपालिका कृषि शाखा प्रमुख मेगराज पौडे्ल अनुसार गाउँपालिकामा मात्र यसवर्ष करिव ७ करोडको सुन्तला उत्पादन भएको छ । गाउँपालिकाले शीत भण्डार बनाएपछि कृषकले शीत भण्डारमा भण्डारण समेत गर्ने गरेका छन् ।

जिल्लाको ४ सय ९४ हेक्टर क्षेत्रमा सुन्तला खेती गरिएकोमा ५ हजार ६ सय ८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा १५ प्रतिशले सुन्तला उत्पादनमा कमी आएको बताएको छ । जिल्लाभरमा यो वर्ष २४ करोड १४ लाखको मुल्यको सुन्तलाको कारोबार हुने कृषि ज्ञान केन्द्र अर्घाखाँचीका सुचना अधिकारी महेन्द्र ओझाले जानकारी दिनुभयो ।

जिल्लामा उत्पादितमध्ये ६० प्रतिशत सुन्तला जिल्लामै खपत हुन्छ भने बाँकी रुपन्देही, पाल्पा, कपिलवस्तु लगायतका अन्य शहरहरूमा निर्यात हुने गरेको छ । यहाँका सुन्तला प्रतिकेजी ५० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ ।

सुन्तलामा लाग्ने विभिन्न रोगहरूको अध्ययन र अनुसन्धान समाधान निकाल्न कृषकहरूले माग गरेका छन् । कृषकका गुनासो र माग सम्बोधन गर्नसके जिल्लावासीको आम्दानीको मुख्य श्रोत नै सुन्तला खेती बन्न्सक्छ । तर, खेतीमा देखिएका समस्या समाधानमा भने सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close