अर्घाखाँचीमा पूर्णकालीन निषेधाज्ञा

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि १४ दिनका लागि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा गएराति देखि लगाइएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गएराति १२ बजेदेखि लागु हुने गरी ३० गतेसम्म निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
निषेधाज्ञामा खाद्य, फलफूल, डेरी, तरकारीजस्ता अत्यावश्यक पसल स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ६ देखि ९ बजेसम्म खोल्न दिइने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।
यस्तै अति अत्यावश्यक बाहेकका सम्पुर्ण यातायातका साधन बन्द रहने छन् भने बैंक तथा वित्तीय संस्था पनि पूर्ण रुपमा बन्द हुने जनाइएको छ ।
यस्तै सञ्चालन भइरहेका विभिन्न परीक्षाहरु स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सञ्चालन हुने बताइएको छ ।जिल्लामा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५सय ७१ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ रहेको छ ।
कमेन्ट गर्नुहोस !