कोरोनालाई पत्र

धर्तीका सबै जन्माइ सुखद हुँदैनन् । सुखद हुन्थे भने तिमी चीनको हुवानमा जन्मिँदा र त्यसपछि हुर्किंदा-बढ्दा सबै विश्वासीले धर्तीमा तिम्रो बेजोड स्वागत गरिरहेका हुन्थे । तर, तिमीलाई त यहाँबाट कसरी नष्ट गर्ने भनेर सारा विश्व नै तिम्रोविरुद्धमा छ । चिठीको सम्बोधन सुरुमै यसरी हुन गयो, म माफी माग्छु ! माफी त तिम्ले माग्नुपर्छ (अ) प्रिय कोरोना, तैपनि मैले नै मागें ।

(अ) प्रिय कोरोना,

साँच्चै तिमी स्वरूपमा अत्ति सानो छौं । हाम्रा आँखा तिम्राअगाडि निरीह छन् । त्यसैले त हामी तिमीबाट छिप्नै सक्दैनौँ र त तिम्रो आक्रमणमा परिहाल्छौँ ! मैले यतिबेला तिमीजस्तो निर्दयी अदृश्य पात्रलाई तिमी भनेर सम्बोधन गरिरहेको छु । यत्ति बुझ, हाम्रो मानवीयता जीवित छ ।

फेरि तिमीसँग प्रश्न गर्ने अधिकार सुरक्षित नै छ । तिमी सोध्न सक्छौ, जर्जर–बर्बरता अँगाल्ने मानव मस्तिष्क कति दूषित र अमानवीय छ भनेर ? र हाम्रै देश नेपालको उदाहरण दिँदै भन्नेछौ– बझाङमा बलात्कारपछि क्रूर यातना-त्रिशूल खोपी वीभत्स हत्या गरिएकी सम्झना कामीबारे । म यसको जवाफ दिन सक्दिनँ ! जवाफ त पीडककी निर्दोष आमाले दिनुभएको छ । सुन्छौ भने म मन गाँठो पारेर भन्छु, ‘मेरा दशधारा दूध खडा (खेर) गया’ !

दिनदिनै तिम्रो प्रभावको मापन गर्न हामी पीसीआर परीक्षण भन्दै कतिन्जेल बसिरहने ? कतिन्जेल आइसोलेसन र क्वारेन्टिनमा थन्किरहने ? कति आफन्तका वियोगको पीडामा आँशु खसालिरहने र भविष्यको त्रासद कुरेर पर्खिरहने ?

यी र यस्ता कुकार्य सहने र स्वीकार्ने हाम्रो फोक्सोमा कुनै श्वास छैन । तर त्यही कोमल फोक्सोलाई तिम्ले आफ्नो अड्डा बनाएर लगातार आक्रमण गरिरहेका छौ । यसबाट हामी विचलित छौँ, शुद्ध हावा शरीरमा सञ्चय गर्न सकिरहेका छैनौँ । शारीरिक थकानसँगै यसैबाट उब्जिएको मानसिक रोगीको भारी बोक्ने दिशातर्फ उन्मुख छौँ । विवश छौँ ।

(अ) प्रिय कोराना,

लामो समय तिम्रै कारणले लगभग विश्व नै लकडाउन भयो । मानवजीवनको अस्तित्व बन्द कोठाभित्र संकुचित बन्यो । हामी कतै निस्किन सकेनौँ, तर तिमी भने स्वतन्त्र बनेर वेग हानी रह्यौ । आफ्नो विरूप प्रभावलाई अझै व्यापक बनाउँदै ! कति भोककै कारणले पृथ्वी लोकबाट अस्ताए । कति तिम्रो थेग्नै नसक्ने अमानवीय बसाइको हर्कतले ।

हाम्रो यात्रा रोकियो । विश्वको समयचक्र आफ्नो लयमा बग्न पाएन । बरु हामी तिमीबाट टाढिन मास्क, पञ्‍जा र स्यानिटाइजरको खोजीमा लाग्यौँ । भोकलाई बिर्सियौँ । आफ्नो जीवनको गन्तव्य र प्रगतिपथको बाटोको यात्रा नै गरेनौँ । बरु हामीजस्ता मानव सामाजिक दूरीको नाममा एकलकाँटे बन्न खोज्यौँ, बन्यौँ । हामी स्थिर भएर रहे पनि घडीका काँटाहरू बाध्य भएर फन्को लगाइरहे ।

हामी तिमीबाट हायलकायल बन्यौँ । यो सबै मानवको अत्यासपूर्ण चित्र देखेको तिमी भने हामीसँग पैठोजोरी खेलिरह्‍यौ ! मानवीय संवेदनाका लाभा कठोर नभएकैले तिम्ले हाम्रो फोक्सोमा सहज बासस्थान पायौं, तर त्यसको प्रतिफल हामीलाई धान्नै नसक्ने गरी अनेकन पीडामा धकेल्यौ । निर्दोष फोक्सोमा तिमी शान्त भएर बस्नुपर्ने हो ! तर, ठीक उल्टो आफ्नै बासस्थान ध्वंस गर्नतिर जोडले लाग्यौ ।

हामी तिम्रै चरित्रको चपेटामा कतिसम्म थिलोथिलो पर्‍यौ ? यसको सबै फेहरिस्त उतार्न मैले आवश्यक देख्दिनँ । यो आफैं काँचमा टल्किरहेको छ । हाम्रा कति स्रोत-साधन त तिम्ले निमेषभरमै उडाइदिइरहेका छौ । हाम्रो आर्थिक क्षमता नराम्ररी स्खलित हुँदा थुप्रैका घरका चुलो निभेको सायदै तिम्लाई हेक्का होला ! स्रोत–साधनको समुचित उपभोगमा पछि पर्दा हाम्रो क्षमता तिमीसँग भिड्ने खालको छैन । अस्पतालका संरचना बल्ल बन्दै छन् । मेडिकल उपकरण पर्याप्त र आधुनिक छैनन् ।

स्वास्थ्यकर्मीजस्ता अति महत्त्वपूर्ण जनशक्ति उत्पादनकै चरणमा छन्, भएकाहरू, देशका दूरदराजमा अझै पुग्‍न नसक्ने स्थिति विद्यमान छ । अझ हाम्रो संघीय राजधानी काठमाडौंको खुलामञ्‍चमा हेर त ! कति मानिस एकछाक खानाकै लागि घामपानी नभनी अनवरत लाइन लागिरहेका छन् । कति डेराविहीन बनिसके, घरभाडा बुझाउन नसकेर !

यी र यस्ता यावत् तथ्यहरू महसुस गर्दै तिमी हाम्रो देशबाट चाँडै टाढिनै पर्छ । यो हाम्रो जबर्जस्त माग हो । हाम्रो देशबाट मात्रै हैन विश्‍वबाटै तिम्रो अस्तित्वको अवशान हुन ढिलो भइसक्यो ।

यसअघि हामी धर्तीका मानव सधैं आफैं-आफैंमा लडेर विश्वजगतमा बलियो र शक्तिशाली भएको प्रमाणित गर्न सदा लागिरह्‍यौं  । त्यसैले त हाम्रा पुर्खाले कहालीलाग्दो प्रथम र द्वितीय विश्वयुद्धको नमीठो स्वाद भोगे । यसका डोब अहिले पनि जीवित छन् र कालान्तरसम्म सजीव रहनेछन् । विश्‍व नै अब त्यसैगरी भिड्ने कुराको कल्पना हामी गर्न सक्दैनौँ र सहजै यसको सभ्याव्यतालाई नर्काछौँ तर हामी यसरी यसबाट टाढिन खोजे पनि हाम्रो लडाइँ तिमीजस्ता मानवजीवनको अस्तित्व नस्वीकार्ने थुप्रै भाइरससँग भने हुनेछ ।

चिठी लामो बनिसकेछ । चाँडै यस धराबाट तिम्रो बिदाई भएको सुन्‍न, पढ्न र लेख्‍न पाउँ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close