जसले छिमेकीको घरमा लागेको आगो निभाउन जाँदा ज्यान गुमाए

काँकडभिट्टा — घर बनाउने श्रमिक शरद राजवंशी, ४५ दिनभरिको कामले थकित थिए । खाना खाएर सुत्ने तरखरमा थिए । मेचीनगर–८ स्थित गाउँमा अचानक होहल्ला मच्चियो । गाउँमा झगडा भयो कि ! भन्ने लागेर उनी निस्किए आँगनमा । घरदेखि करिब दुई सय मिटर पश्चिमको एक घरमा आलो लागेका कारण गाउँलेको दौडधुप देखे । उनी छोरा दिपुलाई बोलाउने बहानामा घटनास्थलतिर हानिए । ‘मैले नजानुभन्दा भन्दै छोरा लिएर आउँछु भनेर जानु भयो,’ श्रीमती पावनी राजवंशीले भनिन्,‘आज यो अवस्था देख्नु पऱ्यो ।’ सहयोगी मनका राजवंशी छिमेकमा लागेको आगो निभाउन अग्रमोर्चामा खटिएका थिए ।
भरिएको ग्याससहितको सिलिन्डर विस्फोटका क्रममा १२ जना छिमेकी घाइते भए । कसैको अनुहारमा चोट लागेको छ । कसैको टाउकोमा । ‘छरछिमेक रुँदै कराउदै आएको देखेपछि म पनि बेहोस भएछु,’ एप्सिलाले भनिन् । विस्फोटको आवाज दुई किलोमिटर आसपाससम्म सुनिएको थियो । पोस्टमर्टमका क्रममा मृतक राजवंशीको गर्धनमा गम्भीर चोट देखिएको थियो ।
छिमेकी केशव पाठकको घरमा बुधबार राति पौने १० बजे लागेको थियो । रामेछाप घर भएका कुमार पाण्डे उक्त घरमा भाडामा बस्दै आएका थिए । पेशाले चालक उनी यात्रु बोकेर चरिकोट गएका थिए । श्रीमती पनि माइत गएकी थिइन् । ‘कोही नभएको घरमा अचानक विद्युत् सर्ट हुन गई आगो लागेको थियो,’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनील दाहालले भने,‘आगो निभाउन जुटेका छिमेकीले अनाहकमा ज्यान गुमाउनुपर्यो । घाइते बन्नुपर्यो ।’
कमेन्ट गर्नुहोस !