आफूखुसी मास्कको मूल्य तोक्दै व्यवसायी

काठमाडौँ — कोभिड–१९ को दोस्रो लहर तीव्र बनेसँगै बजारमा व्यापारीहरूले आफूखुसी मास्कको मूल्य बढाएका छन् । ५० थान हुने सर्जिकल मास्कको प्रतिप्याकेट मूल्य २ सय ५० पर्नेमा उनीहरूले अहिले ३ सय ५० देखि ४ सय रुपैयाँसम्म लिन थालेका छन् । सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा गरेसँगै मास्कको मूल्य एकाएक बढाउन थालिएको हो ।निषेधाज्ञामा अत्यावश्यकबाहेकका सेवा बन्द हुने र सर्वसाधारण खुला रूपमा हिँड्न नपाउने भएकाले मास्क किनेर स्टकमा राख्ने ग्राहकसमेत बढेको व्यवसायी बताउँछन् । कोभिडको दोस्रो लहरको संक्रमण नेपालमा पनि तीव्र रूपमा फैलिएकाले सरकारले बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न भनेको छ । त्यसैले उपभोक्ताले महँगोमै भए पनि मास्क किनिरहेका छन् । केही व्यापारीहरूले मास्कको कृत्रिम अभाव देखाई आफूखुसी मूल्य बढाएर उपभोक्ताहरूलाई महँगोमा मास्क बिक्री गरिरहेको रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरेले बताए । ‘माग बढेकाले केही व्यापारीहरूले आफूखुसी मूल्य बढाएका हुन सक्छन्,’ उनले भने, ‘थोकमा प्रतिगोटा मास्क ३–५ रुपैयाँसम्म पर्छ ।’

चिनियाँ मेल्टब्लोन फिल्टर पेपर भएका सर्जिकल मास्कको मूल्य पहिलाको तुलनामा बढेको सर्जिकल व्यवसायी शिव खनालले स्विकारे । ‘माग बढेकाले बजारमा मास्क महँगिएको छ,’ उनले भने, ‘हामीलाई प्रतिगोटा मास्कमा ५० पैसादेखि १ रुपैयाँसम्म महँगो परिरहेको छ ।’ सामान ढुवानी बढेकाले समेत मास्कको मूल्यमा प्रभाव परेको उनले सुनाए । ठूला व्यापारीहरूबाट २/३ ठाउँबाट सामान लिनुपर्दासमेत लागत बढ्ने भएकाले मास्कको मूल्य बढेको उनको भनाइ छ ।

‘सरकारले निषेधाज्ञा लगाउने भनेपछि मास्क आपूर्तिमा समस्या भइरहेको छ,’ न्युरोडका एक फार्मेसी सञ्चालकले आफ्नो परिचय नखुलाउने सर्तमा भने, ‘हामीलाई पनि सप्लायर्सले जति मूल्य लगाउँछन्, त्यहीअनुसार बिक्री गर्छौं ।’ उनका अनुसार मंगलबार ३ सय ५० रुपैयाँसम्ममा बिक्री गरिरहेको मास्क बुधबार चार सय रुपैयाँ पुगेको छ । पुरानै स्टकमा भएकाहरूले मात्र मास्क ५० थान हुने एक प्याकेट मास्क मूल्य २ सय ५० रुपैयाँसम्ममा बिक्री गरिरहेको उनले सुनाए । आफ्नो नाम नखुलाउन चाहने अर्का फार्मेसी सञ्चालकले भने स्टकमा रहेको मास्क २ सय ५० रुपैयाँमा बिक्री गरिरहेको जानकारी दिए । ‘मसँग पुरानै स्टक भएकाले पहिलेकै दरमा बिक्री गरिरहेको छु,’ उनले भने, ‘नयाँ मास्क आएपछि ३ सय ५० रुपैयाँ जति पुग्छ ।’ केही व्यापारीले भने स्टकमा रहेका मास्क नै मूल्य बढाएर बिक्री गरिरहेको उनको भनाइ छ ।

पहिलो पटक चीनमा कोभिड–१९ संक्रमण देखिएसँगै नेपालमा मास्क अभाव भएको थियो । त्यतिबेला पनि केही व्यवसायीले उपभोक्ताहरूलाई महँगोमा मास्क बिक्री गरेका थिए ।कान्तीपुर बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close