पुटिनको मस्कोमा वार्ताका लागि आएको प्रस्ताव अस्वीकार

काठमाण्डौ, भदौ२३। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मस्कोमा वार्ताका लागि आएको प्रस्ताव अस्वीकार गर्नुभएको छ । अमेरिकी टेलिभिजन एबीसी न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा दैनिक मिसाईल आक्रमण भइरहेकोले आफू रुसको राजधानी मस्को जान नसक्ने बताउनुभएको छ ।

उहाँले रुसी राष्ट्रपति पुटिन आफैं युक्रेन आउन सक्ने विकल्प दिनुभएको छ । जेलेन्स्कीले पुटिनलाई वास्तवमा शान्ति र वार्ता चाहेको नभइ समय लम्ब्याउने खेल खेलिरहेको आरोप समेत लगाउनुभएको छ । यसअघि पुटिनले यदि जेलेन्स्की तयार भए मस्को आउन सक्ने र वार्ता हुन सक्ने बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै नेताबीच प्रत्यक्ष भेट गराउने प्राथमिकता व्यक्त गर्नुभएको छ । साथै जर्मन चान्सलर फ्रेडरिक मर्जसहितका युरोपेली नेताहरूले तत्काल द्विपक्षीय भेटवार्ता सम्भव नभएको टिप्पणी गरेका छन् । युक्रेनी विदेशमन्त्री आन्द्रिय सिबिहाले अस्ट्रिया, भ्याटिकन, स्विजरल्याण्ड, टर्कि र तीन वटा खाडी देशमा बार्ता गर्न सकिने बताउनुभएको छ ।

यसअघि हिजो मात्रै रुसले पहिलो पटक युक्रेनी सरकारी भवनमा आक्रमण गरेको थियो । रातभरको आक्रमणमा रुसले आठ सय पाँच ड्रोन र १३ वटा मिसाइल प्रहार गरेको युक्रेनको आरोप छ । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा दुई जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close