वनमा आगो लगाउने व्यक्ती अर्घाखाँचीमा पक्राउ,बस्तीमा पस्दा घर जलेर नष्ट र पशु मरेका थिए

सागर महत,चैत्र २६,अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ७ पानडाँडा वन क्षेत्रमा आगो लगाउने व्यक्ती पक्राउ परेका छन ।
वनमा आगोलगाउने सोहि ठाँउका २४ वर्षीय प्रदीप जिसीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले जानकारी दिनुभयो । अहिले उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
पानडाँडामा चैत १८ गते वनमा लागेको आगो बस्तीमा पुग्दा स्थानीय लोकबहादुर थापाको घरगोठ ,रेलबहादुर थापाको गोठ र तिलकबहादुर रायमाझीको गोठ र शौचालय जलेर नष्ट भएका थिए ।गोठमा रहेका एउटा भैंसी, एउटा पाडो, ९ वटा बाख्रा र ५९ वटा कुखुरा जलेर मरेका थिए।
घर नजिकैको वनमा लागेको डढेलो घरमा लागेको थियो ।जिसीले वनमा बाख्रा चराउन गएको बेला वनमा आगो लगाएको र वनमा फैलिएपछि जिसी भागेको स्थानीयले वन कार्यालयलाई खबर गरेपछि पक्राउ गरिएको सुचना अधिकारी खड्काले जानकारी दिनुभयो । जिसीले भने अस्वीकार गरेका छन् ।
वन ऐन, २०७६ अनुसार राष्ट्रिय वनमा डढेलो लगाउने कार्यलाई दण्डनीय अपराध मानिने भएकाले आरोप पुष्टि भएमा तीन वर्षसम्मको कैद वा ६० हजार रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
कमेन्ट गर्नुहोस !