दैनिक पाँच हजार अण्डा बजार बेच्ने ओमराज, मासिक एक लाख पचास हजार बचत

बागलुङ ।बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रीन ल्यान्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक एक लाख ५० हजार रुपैयाँ बचत गर्दै आएका छन्।
स्थानीय ओमराज शर्माले सञ्चालन गर्नुभएको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ। बाह्र बर्ष कतार बसेर फर्किएका शर्मा कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताउँछन्।
शर्माले भने, “तीन हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु।” एक करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उनले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जिप र चार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक एक लाख ५० हजार रुपैयाँ बचत हुने गरेको उद्यमी शर्माको भनाई छ।
अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण मूल्य भने अस्थिर हुने गरेको उनी बताउँछन्। किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उनको जोड छ। कुखुरापालनभन्दा गाईबाख्रा पाल्न सहज हुने अनुभव उनको छ। त्यसैले अब उनी व्यावसायिक रूपमा गाई र बाख्रापालनको योजना कार्यान्वयनमा छन्। रासस




कमेन्ट गर्नुहोस !