अर्घाखाँचीमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको घटनाका चालक पुर्पक्षका लागि थुनामा

सन्धिखर्क ।अर्घाखाँचीमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको घटनाका चालक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।जिल्लाको भूमिकास्थान नगरपालिकामा कात्तिक १९ गते भएको बस दुर्घटनाका चालक पुर्पक्षका लागि कारागार चलान भएका हुन । नगरपालिकाको वडा नम्बर ५ असुरकोट र वडा नम्बर ६ खिल्जीको सिमानामा पर्ने उदयठाटीमा सामूहिक देउसीभैंलो खेलिरहेको समयमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु र ३५ जना घाइते भएका थिए ।
दुर्घटनापछि बस चालक प्युठानको मल्लारानी गाउँपालिका ४ कसेरीका ३० वर्षीय केशव खड्कालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । उनलाई अर्घाखाँची अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
देउसीभैंलो नाचिरहेको स्थानमा ना३ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको थियो। बाटोमा भैंलो खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी मल्लको भनाइ छ।
दुर्घटनामा भूमिकास्थान नगरपालिका १ ढाकाबांगकी ७० वर्षीया रुनी खनालको घटनास्थलमै र उपचारको क्रममा २२ वर्षीया तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा मृत्यु भएको थियो ।
कमेन्ट गर्नुहोस !