गुल्मी र बागलुङमा पहिरोमा परि १२ जनाको मृत्यु

काठमाण्डौ ।गुल्मीमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनाका विष्णु बिक र हुकुम विकको घरमाथिबाट खसेको लेदोसहितको पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अन्दाजी ४६ वर्षीय गोरे बिक, ६७ वर्षीय हुकुम बिक, ६६ वर्षीय मसुरी बिक र साढे दुई वर्षीया रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केशीले जानकारी दिनुभयो ।
पहिरोले पुरिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा ३१ वर्षीय विष्णु र २३ वर्षीया मुना बिक घाइते हुनुभएको हो । उहाँहरूको शरीरका विभिन्न स्थानहरूमा चोट लागेको प्रहरी निरीक्षक केशीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै बागलुङमा पहिरोमा पुरिएर आठ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर बडिगाड गाउँपालिका वडा नम्बर ९ र वडा नम्बर १० मा गरी अहिलेसम्म आठ जनाको ज्यान गएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
पहिरोमा परी वडा नम्बर १० मा मालती बुढा, मधु बुढा, सञ्जु विकको ६ महिने छोरी, मनोज बुढा, अमन बुढा र मैतीदेवी विक रहेका छन् । यसैगरी वडा नम्बर ९ मा विधान परियार र गङ्गा बस्नेतको ज्यान गएको छ ।यस्तै पहिरोमा परी वडा नम्बर १० का सात जना घाइते भएका र तीमध्ये गम्भीर घाइते दुई जनालाई हेलिकप्टरमा काठमाण्डौ पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो ।
पहिरोमा परी थप दुई जना बेपत्ता भएका छन् । अहिले घटनास्थलमा प्रहरी, सेना र बडिगाड गाउँपालिकाका स्वास्थ्यकर्मीको टोली उद्धारमा खटिएको छ । छिमेकीहरू सुरक्षित भन्दै पुगेको घर नै पहिरोले बगाएको बरालको भनाइ छ ।
कमेन्ट गर्नुहोस !