आज असार १५ धान दिवस ,दही च्यूरा खाने पर्व

काठमाण्डौं ।आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ ।कोरोनाको महामारीका बिच भिडभाड नगरी सामाजिक दुरी कायम गरेर र सरकारका स्वास्थ्य मापदण्ड समेत पालना गरेर सामान्य रूपले रोपाई दिवस मनाउन लागेको कृषि विभागले जनाएको छ ।असार १५ लाई नेपालीहरूले मानो रोपेर मुरी पलाउने दिनको रुपमा मानेर रोपाइ गर्ने गर्दछन् ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ विसं २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ।
कमेन्ट गर्नुहोस !