तीन दलको बैठक बिना निष्कर्ष टुंगियो

काठमाण्डौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राख्नुभएको थियो ।यो प्रस्तावलाई माओवादी केन्द्रले समर्थन गरे पनि जनता समाजवादी पार्टीले थप समय माग गरेको छ। बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले सरकार बनाउने औपचारिक प्रस्ताव माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग राख्नुभएको थियो ।आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ थिए भने जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी रहेको थियो।तर, बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने देउवाको कुरालाई सकारात्मक रहेको भन्दै आफू सहकार्य गर्न तयार रहेको बताउनुभयो ।प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहेको समेत स्पष्ट पार्नुभएको थियो । ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा सकारात्मक छलफल भएको जसपाको पार्टी बैठक बसेपछि पुन ३ दलको बैठक बस्ने सहमति भएको जानकारी दिनुभयो।करिब ४५ मिनेट चलेको बैठकपछि जसपा नेता महन्थ ठाकुरले सरकार बदल्ने औपचारिक प्रस्ताव बैठकमा आएको र यस विषयमा पार्टीमा छलफल गरेर निर्णय गर्ने बताउनुभयो।
कमेन्ट गर्नुहोस !