मालारानीको बजेटमा प्राङ्गारिक मल कारखाना संचालनदेखि कृषि उत्पादन ढुवानीमा अनुदान

मालारानी।अर्घाखाँचीको मालारानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६२ करोड ९२ लाख ५१ हजार को बजेट सार्वजनिक गरेको छ। ‘कृषि, पर्यटन र सहकारीः समृद्ध मालारानी’ भन्ने मूल नारामा आधारित रहेर गाउँपालिका उपाध्यक्ष दीपा पोखरेलले बजेट प्रस्तुत गर्नुभएको हो ।जसअन्तर्गत चालुतर्फ ४५ करोड ७१ लाख २९ हजार र पुँजीगत १७ करोड २१ लाख २२ हजार विनियोजन गरिएको छ।
गाउँपालिकाको बजेट कृषि, पशुपालन, सामाजिक सुरक्षा, पूर्वाधार, स्वास्थ्य, शिक्षा र सूचना प्रविधि लगायतका कार्यक्रमहरु समेटिएको छ।प्राङ्गारिक मल कारखाना स्थापना गर्ने , किसानका उत्पादन बजारसम्म पुर्याउन ढुवानीमा अनुदानका , मालारानी ८ मा मसला उद्योग स्थापना गर्ने जनाएको छ ।
शिक्षा क्षेत्रमा स्थानीय पाठ्यक्रम ‘हाम्रो मालारानी’ विकास, छात्रवृत्ति, विज्ञान प्रविधि शिक्षा र शिक्षक तालिमलाई प्राथमिकता दिइएको छ।पूर्वाधार निर्माणमा ६ करोड ३० लाख, सामाजिक विकासमा ७ करोड ३७ लाख ५१ हजार, स्वास्थ्य सेवामा दीर्घरोगी निःशुल्क औषधिको लागि २० लाख रकम विनियोजन भएको छ भने नवजात सेवा र ल्याब विस्तारका कार्यक्रम समावेश छन्।
पर्यटन प्रवर्द्धन
गाइड तालिम, पर्यटकीय नक्सा प्रकाशन र भगवती मन्दिरको पूर्वाधार निर्माणका योजनाहरू बजेटमा समेटिएका छन्।
समावेशी कार्यक्रम र स्थानीय विकास
वडास्तरीय विकासका लागि १ करोड ५७ लाख ५० हजार, संस्थागत विकास तथा सुशासनतर्फ ८ करोड ५२ लाख ५० हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ५८ लाख विनियोजन गरिएको छ।
महिला, दलित, अपांगता भएका व्यक्ति, वृद्ध, बालबालिका र सुकुम्बासी लक्षित कार्यक्रम समावेश गरिएको छ।
आम्दानी स्रोत
समानीकरण अनुदान – ११ करोड ३६ लाख ७२ हजार
राजस्व बाँडफाँड – ९ करोड ९७ लाख १६ हजार
सशर्त अनुदान – ३५ करोड ५१ लाख
विशेष अनुदान – ८७ लाख
आन्तरिक स्रोत – ३ करोड २३ लाख ६२ हजार ८०५
गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले यो बजेटले समृद्ध मालारानी निर्माणमा सार्थक पाइला चाल्ने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले योजनाहरू पारदर्शी र प्रविधिमैत्री प्रणालीमार्फत कार्यान्वयन गरिने जानकारी दिनुभयो।
उपाध्यक्ष दीपा पोखरेलले स्रोत सीमित भए पनि सहभागितामूलक र आवश्यकता आधारित बजेट निर्माण गरिएको बताउनुभयो।
कमेन्ट गर्नुहोस !