कार्ल मार्क्सको अफिम मेरो धर्म होइन

लेखकः ईश्वर भट्ट,प्रकाशित मिति साउन १० ।
धर्मको बारेमा जब चर्चा गरिन्छ, तब धेरैजसो मानिसहरुको ध्यान एउटा प्रसिद्ध भनाइतर्फ जान्छ— “धर्म जनताको अफिम हो”। यो भनाइ जर्मन दार्शनिक कार्ल मार्क्सले सन् १८४३ तिर लेखिएको आफ्नो प्रसिद्ध रचनामा गरेका थिए। उनले भनेका थिए, “Religion is the opium of the people” अर्थात् धर्म जनताको अफिम हो। यसले तत्कालीन युरोपेली समाजमा धर्मद्वारा मानिसलाई संवेदना र कष्टबाट छुटकारा दिने भ्रामक आश्वासन दिइन्थ्यो भन्ने तर्क प्रस्तुत गरिएको थियो। तर के साँच्चै धर्म केवल अफिम मात्र हो? कि त्यो मानव चेतना, सभ्यता र सत्यको उत्पत्ति गर्ने शक्ति पनि हो? मार्क्सले यो भनाइ ” कृटिक्स अफ हेगल्स फिलोसफी अफ राइट” नामक लेखमा गरेका थिए, जहाँ उनले आफ्ना गुरु हेगेलको आदर्शवादको आलोचना गर्दै द्वन्द्वात्मक भौतिकवाद (dialectical materialism) को सिद्धान्तलाई अघि सारेका थिए ।
हेगेलका अनुसार विचारले नै सबै वस्तुहरुको आधार बनाउँछ— विचार, त्यसको विरोध (antithesis), र तिनीहरूको समिश्रण (synthesis) बाट नयाँ चेतना जन्मिन्छ। तर मार्क्सले विचारभन्दा पहिला वस्तु आउँछ भने। वस्तुले विचार जन्माउँछ, अनि त्यो वस्तुले पनि द्वन्द्वात्मक प्रक्रिया पार गर्छ भनी आफ्ना गुरु हेगलको आलोचना गरेका थिए। धर्मको आलोचना मार्क्सले यहींबाट सुरु गरे उनका अनुसार धर्म एउटा कल्पनाजन्य व्यवस्थाको उत्पाद हो जसले उत्पीडित जनतालाई राहत दिने भ्रम दिन्छ। तर मार्क्सको यो तर्क केवल धर्मको एक आयाममाथि केन्द्रित थियो—त्यो आयाम थियो धर्मको संस्थागत स्वरूप, जुन सत्ताको संरक्षण गर्न प्रयोग गरिन्थ्यो।
तर धर्म यतिमा मात्र सीमित छैन; धर्म केवल अफिम होइन धर्म सत्य, चेतना, उत्तरदायित्व र मुक्ति (मोक्ष) को मार्ग पनि हो। धर्म मानव सभ्यताको जरा हो, जसले जीवनको गहिरा प्रश्नहरूमा उत्तर खोज्ने माध्यम दिन्छ। धर्म भन्नाले अहिले धेरैजसो मानिसले पंथ अर्थात् सम्प्रदाय बुझ्ने गरेका छन्। कुनै विशेष सम्प्रदाय, धार्मिक नियम, अनुयायी, पूजा-पद्धति वा संस्कारलाई धर्म मान्ने प्रवृत्ति हावी छ।
तर यस्ता सम्प्रदायहरू समयक्रममा विकसित भएका हुन।धर्मको सन्दर्भमा एउटै यथार्थमा पुग्ने विभिन्न मार्गहरु छन जसमा प्रत्येक पंथले धर्मको कुनै न कुनै आयाम समेट्छ, तर धर्म सम्प्रदायभन्दा धेरै व्यापक र गहिरो अवधारणा हो। भारतमा जबसम्म शंकराचार्यको उदय भएको थिएन, हिन्दू धर्मको संस्थागत रूप आजको जस्तो थिएन। त्यसबेलासम्म विविध सनातन परम्पराहरू थिए—वेद, उपनिषद्, योग, तप, अग्निहोत्र, प्रकृति पूजा आदिमा आधारित जीवनपद्धतिहरू थिए। शंकराचार्यले अद्वैत वेदान्तको दर्शन प्रस्तुत गर्दै “अहं ब्रह्मास्मि”म नै ब्रह्म हुँ, आत्मा नै परमात्मा हो भन्ने विचार दिए। उनले निर्गुण ब्रह्मको सिद्धान्त प्रस्तुत गरे। धेरैले त्यसको विरोध गरे—”यदि म नै ब्रह्म हुँ भने म पूजा किन गर्ने?” यसप्रति उत्तरस्वरूप शंकराचार्यले पञ्चदेव उपासना प्रचलनमा ल्याए—गणेश, विष्णु, शिव, दुर्गा र सुर्यको पूजा, जसले सनातन धारालाई आजको हिन्दू धर्ममा रूपान्तरण गर्यो यसैबेला उनले बौद्धमतको निन्दा मात्रै गरेनन आफ्ना चार मठहरु स्थापित गरेर भारतबाट बौद्धहरुलाई भगाउने अभियान नै चलाए। यसै गरी, जबसम्म सिद्धार्थ गौतम बुद्धले ज्ञान प्राप्त गरेका थिएनन्, तबसम्म बौद्ध धर्मको अस्तित्व थिएन। उनले तामझामयुक्त यज्ञ र बाह्य कर्मलाई अस्वीकार गर्दै आत्मचिन्तन, मध्यम मार्ग र करुणालाई जीवनको मार्ग बनाएका थिए। पछि उनका अनुयायीहरूले उनलाई भगवानको दर्जा दिएर नयाँ धार्मिक प्रणालीको निर्माण गरे र बौद्ध धर्मको स्थापना भयो। त्यस्तै, पश्चिम एसियामा जबसम्म हजरत अब्राहमको आगमन भएको थिएन, त्यहाँका मानिसहरू अनेकेश्वरवादी थिए। अब्राहमले एकेश्वरवादको अवधारणा अघि सारे जसबाट यहूदी धर्म, पछि ईसाइ धर्म, र अन्ततः इस्लाम धर्मको जन्म भयो। प्रत्येक धर्म कुनै न कुनै युगको सामाजिक, सांस्कृतिक र दार्शनिक आवश्यकताबाट उत्पन्न भएका थियो।
तर मूलमा सबैले नै सत्य, नैतिकता, उत्तरदायित्व, र मुक्ति खोजिरहेका थिए। त्यसैले यिनले पंथलाई प्रस्तुत गरे पनि मूल प्रेरणा धर्म थियो त्यो धर्म जसले मानवलाई ‘सत्य र मोक्षसँग जोड्छ। कार्लमार्क्सले गरेको व्याख्या जस्तो धर्म भन्नाले केवल सम्प्रदायलाई मात्र जनाउँदैन। प्राचीन संस्कृत साहित्य र दर्शनमा धर्मलाई ‘धृ’ धातुबाट व्युत्पन्न गरिएको छ जसको अर्थ हो धारण गर्नु, कायम राख्नु, सन्तुलन राख्नु हुन्छ अर्थात धर्म भन्नाले कर्तव्य हो जो हरेक मनुष्य या वस्तुले व्युत्पत्तीका साथ धारण गरेको हुन्छ। जस्तो सूर्यले ताप दिनु, नदीले बग्नु, पृथ्वीले ओजन थाम्नु यी सबै तिनका धर्म हुन्। त्यस्तै, शिक्षकको धर्म शिक्षादान गर्नु हो, न्यायाधीशको धर्म निष्पक्ष न्याय गर्नु हो, विद्यार्थीको धर्म अध्ययन गर्नु हो। धर्म भनेको यो अर्थमा कर्तव्य र जिम्मेवारी हो।
आज समाजमा कुनै व्यक्ति भ्रष्टाचार गर्छ, अनैतिक कार्य गर्छ भने भनिन्छ—”धर्म भ्रष्ट भयो”, “धर्मबाट च्युत भयो।” त्यसको अर्थ—उसले आफ्नो सामाजिक, नैतिक जिम्मेवारीबाट विचलन भयो भन्ने हो। यसले धर्म केवल धार्मिक कर्मकाण्ड मात्र होइन, जीवनशैली र आचरण पनि हो भन्ने बुझिन्छ। धर्मलाई अझ गहिरो अर्थमा बुझ्दा, यो विश्वाससँग पनि गाँसिएको हुन्छ। विशेष गरी, आस्तिकहरूका लागि धर्म भन्नाले त्यो नियम हो जसले उनीहरूलाई ईश्वरमा विश्वास गर्न सिकाउँछ। यस अर्थमा धर्म कुनै अनुशासन हो, जसको आधारमा मानिस जीवनमा संयम, सन्तुलन, करुणा, परोपकार र साधना अभ्यास गर्छ।कसैले भगवानको अस्तित्व लाई मान्छ, पूजापाठ गर्छ भने उसलाई धार्मिक भनिन्छ।
यद्यपि यसको अर्थ केवल पूजा वा विश्वास होइन, त्यो विश्वासले उसको आचरणमा कस्तो परिवर्तन ल्याउँछ भन्ने हो। धर्मले मानिसलाई निरन्तर आत्मनिरीक्षण, आत्मसंयम र आत्मोन्नतिको मार्गमा अग्रसर गराउँछ। धर्म यति गहिरो मानवीय भावना हो कि यो विज्ञानभन्दा परको प्रश्नहरू पनि सोध्छ म को हुँ? किन जन्मेको हुँ? मृत्युपछि के हुन्छ? परम सत्य के हो? यो दृष्टिले धर्मले दर्शन जन्माउँछ, र दर्शनले विचार–व्यवस्थाको जग बसाल्छ। धर्मले हजारौँ वर्षदेखि समाजमा नैतिकता, अनुशासन र समानताको चेतना फैलाउँदै आएको छ। यद्यपि विभिन्न युग र कालखण्डमा धर्मको नाममा हिंसा, विभाजन र कट्टरता पनि देखिएको छ त्यो धर्मको दोष होइन, त्यो धर्मको विकृत व्याख्या हो। जसरी चक्कु चिकित्सकको हातमा जिवनरक्षक हुन्छ र अपराधीको हातमा घातक हुन्छ, त्यसरी नै धर्म पनि मानिसको दृष्टिकोणमा भर पर्छ।
धर्मले शान्ति सिकाउँछ, सेवा सिकाउँछ, क्षमा, त्याग, करुणा, सहिष्णुता र प्रेम सिकाउँछ। भगवान राम, कृष्ण, बुद्ध, कबीर,महावीर, ईसा, मोहम्मद सबैले एउटै सन्देश दिए सत्य, करुणा र न्याय तर जस्ले त्यसको अपव्याख्या गरे या त्यो कुरालाई नहेरी धर्मको पन्थिय स्वरुपलाई प्राथमिकता दिए त्यो धर्मको दोष हैन। त्यसैले धर्म अफिम होइन, त्यो त सत्यतर्फ जान प्रेरणा दिने माध्यम हो। धर्म कुनै एकमत, सम्प्रदाय वा संस्कारमा सीमित हुँदैन धर्म जीवनको आधार हो। यो केवल सामाजिक संरचना मात्र होइन; यो मानिसको अन्तरचेतना, विवेक र आत्मबोधको मार्ग हो। धर्म आफैंमा मुक्ति र ज्ञानको स्रोत हो। मार्क्सले धर्मलाई अफिम भनेका थिए किनभने उनी धर्मको प्रयोगको आलोचना गर्दै थिए, धर्मको सारको होइन।धर्म जब कट्टरता, मूर्खता र हिंसाको नाममा प्रयोग हुन्छ तब त्यो अफिम हो, तर जब धर्मले जीवनलाई सत्य, शान्ति र सह-अस्तित्वतर्फ लैजान्छ तब त्यो मुक्ति मार्ग हो। त्यसैले धर्म केवल अफिम होइन सत्यको जननी पनि हो।
कमेन्ट गर्नुहोस !