भोलिदेखि सुरु हुने एसईई परिक्षाको अर्घाखाँचीमा तयारी पुरा,करिव ३ हजार परीक्षार्थी सहभागी हुँदै

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको छ ।भोलि (बिहीबार) बिहान ८ बजेबाट सुरु हुने परीक्षा (एसइई)को तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीले जनाएको छ ।भोलि अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । यस वर्षको परीक्षामा अर्घाखाँचीबाट २ हजार ९ सय ७२ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये १ हजार ३ सय ९७ छात्र र १ हजार ५ सय ७५ छात्राले एसइई परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले जानकारी दिनुभयो । २७ छात्र र २७ छात्रा गरी ५४ जनाले परीक्षार्थी ग्रेड वृद्धिका लागि सहभागी हुँदैछन् ।
परीक्षाका लागि आवश्यक उत्तर पुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरूमा पठाइसकिएको छ । अर्घाखाँचीमा जम्मा १७ वटा परीक्षा केन्द्र तोकिएको इकाई प्रमुख पराजुलीले बताउनुभयो ।परीक्षा सञ्चालनका लागि १७ जना केन्द्राध्यक्ष, २० जना सहायक केन्द्राध्यक्ष र १सय४८ जना निरीक्षक तोकिएको छ भने सहायक कर्मचारी रुपमा ३१ जना र ६० जना कार्यालय सहयोगी खटाइएको छ । परीक्षालाई शान्त र भयरहित वातावरणमा सम्पन्न गराउन हरेक परीक्षा केन्द्रमा आवश्यकता अनुसार ४ देखि १० जना सुरक्षाकर्मी परिचालन गरिने छ ।
यता यस वर्षदेखि नयाँ पाठ्यक्रमअनुसार सञ्चालन हुने एसईईमा देशभरबाट १० हजार ८ सय ६ विद्यालयबाट ५ लाख ४ हजार ४सय१४ परीक्षार्थी सामेल हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।त्यसमध्ये छात्र दुई लाख ५३ हजार ७२७ छन् भने छात्रा दुई लाख ५० हजार ७ सय ७२ र १५ जना अन्य सहभागी हुँदै छ ।
कमेन्ट गर्नुहोस !