गुल्मी र अर्घाखाँचीमा रेबिजको त्रास

गुल्मीको छत्रकोट गाउँपालिका ५ खर्ज्याङका डालप्रसाद पन्थीको उन्नत जातको भैँसी गत बुधबार मर्‍यो। एक हप्तादेखि भैँसी बिरामी थियो। भैँसीले कुकुरजस्तै कराउने, कोखा हान्ने, खाना नखानेलगायतका अस्वभाविक लक्षण देखाएको थियो।

पन्थीका अनुसार भैँसीको साँप्रामा टोकेका डाम थिए। तर, कुकुर वा जंगली जनावरले केले टोक्यो पत्तै पाएनन्। उनले सिद्धिविनायक कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर १४ वटा भैँसी पालेका छन्। अरू भैँसी ठीक भए पनि मधेसबाट डेढ लाख हालेर ल्याएको साढे ४ माना दूध दिने भैँसी मरेपछि पन्थी पीडामा छन्। गाउँमा निकै त्रास भएकाले कुकुर नियन्त्रणमा ध्यान दिन पन्थीले स्थानीय सरकार र प्रशासनलाई आग्रह गरे।

गत २३ र २५ पुसमा अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नं ४ केरुङका डम्बरबहादुर विकका दुई भैँसी मरे। ब्याउने र थोरो भैँसी मरेपछि विकलाई करिब डेढ लाखको आर्थिक क्षति भएको छ। उनले रातिमा भैँसीको कान र मुखमा टोकेको चोट देखे।

केही बेरमा गाउँमा हल्लाखल्ला भयो। गाउँमा अरू व्यक्तिका पनि पशुचौपायालाई टोकेपछि कुकुर भन्ने पत्तो भयो। तर, बौलाहा कुकुर भन्ने भएन। विकले तत्काल खासै समस्या नभएकाले केही उपचार गरेनन्।

एक महिनापछि भैँसी बिरामी परे। पशु प्राविधिक ल्याएर रेबिजको खोप त लगाए। भैँसी बाँचेनन्। बिमा थिएन। विकले गाउँका नेताहरूलाई भैँसी मरेको खबर सुनाए। तर, कसैले पनि कुकुरले टोकेर मरेका पशुको क्षतिपूर्ति पाइन्छ भनेनन्। डम्बरबहादुर अहिले पीडाले विक्षिप्त छन्। ‘गाउँका त्रासले बाहिर निस्कने अवस्था छैन। मान्छे जोगिने कि पशुचौपाया निकै गाह्रो भयो,’ उनले भने, ‘हाम्रो क्षति सरकारले देख्नुपर्छ।’ सोही गाउँकै दुईजनाको दुईवटा पाडी पनि मरे।

छत्रदेव वडा नं २ बल्कोटका राधिका भुसाल र कुलानन्द भुसालका एक(एकवटा भैँसी मरे। सोही गाउँकै एकजनाको पाडी पनि मर्‍यो। त्योभन्दा अगाडि वडा नं ७ भगवतीमा कुकुर र बाख्रा मरेको छत्रदेव गाउँपालिकाका पशु प्राविधिक उमानाथ पन्थीले बताए। एक(डेढ महिनाअघि कुकुर गोठहरूमा पशुचौपाया टोक्दै हिँडेको र लक्षणहरू पनि देखिएकाले रेबिजको कारण मरेको आशंका रहेको पन्थीले बताए।

उनले कुकुरले मान्छे र पशुचौपाया टोकेपछि पालिकाभित्रका पाँच सय बढी कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको बताए। स्थानीयले गुल्मीको सिमीचौरबाट एउटा कुकुर पशुचौपाया र मान्छे टोक्दै अर्घाखाँचीको छत्रदेव गाउँपालिका प्रवेश गरेको स्थानीयलाई उदृत गर्दै प्राविधिक पन्थीले बताए।

बिहीबार गुल्मी दरबार गाउँपालिका ४ बिरबासका बाबुराम कँडेलको भैँसीलाई पनि कुकुरले टोकेको लक्षण देखिएकाले प्राविधिक टोली स्थलगत निरीक्षणमा पठाएको भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए।

उनले कार्यालयबाट स्थलगत रूपमा गएका डाक्टर मदन भण्डारीसहितको प्राविधिक टोलीले भैँसीले आक्रामक किसिमका लक्षणहरू देखाएकाले रेबिज परीक्षणको लागि स्याम्पलहरू लिएर आएको बताए।

रेबिज लागेको प्रमाणित भएपछि स्थानीय तहहरूको समन्वयमा अरू योजना बनाउने काफ्लेले बताए। तर, आफू र आफ्ना पशुचौपायाको ख्याल गर्न र शंका लागेमा तुरुन्त सम्बन्धित कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गरे। गुल्मी दरबार गाउँपालिका ६ की ४० वर्षीया रजुना शाहको रेबिजकै कारण केही दिनअघि ज्यान गएको थियो।नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close