साउनको पहिलो सोमवार व्रत बसी शिवजीको पूजा गरिदै

काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार, साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ। साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुन्छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु अनिअन्य विविध कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ ।
सनातन धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना फल प्राप्त हुन्छ भन्ने विश्वास छ । पुराणहरूमा शिवआराधनाका लागि मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्– साउने सोमबार, सोर्ह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।साउनमा हरियो, पहेँलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ । खस आर्य समुदायका महिलाबाट सुरु भएको फेसन अहिले अरु समुदायका महिलाहरुमा समेत फैलिएको छ ।केही वर्षयता साउन महिनामा विवाहित होस् या अविवाहित महिलाले हातमा हरियो, चुरा हत्केलामा र खुट्टामा मेहेन्दी लगाउने गरेका छन् । यही कारणले पनि कस्मेटिक पसलहरुमा व्यापार व्यवसाय बढेको छ ।संस्कृतिविद्हरुका अनुसार साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइन्छ ।
कमेन्ट गर्नुहोस !