गुल्मीको खज्र्यांगमा विशेषज्ञ चिकित्सक सहितको अस्पताल संचालन हुँदै

प्रेमनारायण आचार्य,अर्घाखाँची ।गुल्मीको खज्र्यांगमा विशेषज्ञ चिकित्सक सहितको सुविधा सम्पन्न अस्पताल संचालन हुने भएको छ । छत्रकोट गाउँपालिका–५ खर्ज्याङ्ग बजारमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रा.लि. लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास सङ्गको साझेदारीमा जनस्तरबाट लगानी गरेर अस्पताल संचालन हुन लागेको हो।
सोमबार उक्त अस्पतालका शेयर धनिहरुको संस्था खर्ज्याङ्ग पब्लिक हेल्थ प्रालिले पत्रकार सम्मेलन गर्दै पुष १४ गते १५ शैयाको अस्पतालको उद्घाटन गर्न लागिएको त्यस संस्थाका अध्यक्ष सरोज पाण्डेले जानकारी दिनुभयो।
गुल्मीको छत्रकोट, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिका तथा अर्घाखाँचीको छत्रदेव र पाणिनी गाउँपालिका साथै पाल्पाको रैनादेवी छहरा गाउँपालिका गरी ६ स्थानीय तहका एक लाख बढी जनसंख्यालाई लक्षित गरेर विगत ७ वर्षदेखि अस्पताल स्थापना गर्ने उद्देश्यका साथ हाल संचालनमा ल्याइएको हो । अस्पताल तीन सय ९७ जना नागरिकको सेयर लगानीमा स्थापना भएको अस्पतालका कार्यकारी निर्देशक नारायणप्रसाद अर्यालले बताउनुभयो ।
“गुल्मी, अर्घाखाँची र पाल्पाको ऐक्यबद्धता–गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ अस्पतालको स्थापना भएको हो । यश अस्पतालमा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाको पनि बराबरी लगानीमा खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेडको स्थापना भएको हो । अस्पतालमा हालसम्म ७ करोड लगानी भइसकेको छ । पूर्ण रुपमा उपकरणसहित अस्पताल सम्पन्न हुँदा १० करोड लगानी हुने अस्पताल संचालक समिति अध्यक्ष पाण्डेको भनाई छ।
पत्रकार सम्मेलनमा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका संचालक समिति अध्यक्ष गोपालबहादुर पोखरेलले आफूहरूको समेत सहजीकरणमा गुल्मीमा अस्पताल स्थापना गरेर गुल्मी, अर्घाखाँची र पाल्पाका बिरामीले सहज सेवा पाउने बताउनुभयो । त्यस्तै लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका संचालक समिति सदस्य रामप्रसाद पोखरेलले पाल्पापछि गुल्मीमा पनि आफूहरूको समेत लगानीमा गुल्मी, पाल्पा र अर्घाखाँचीको सिमाना गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ५ खर्ज्याङ्गमा अस्पताल स्थापना भएको बताउनुभयो ।
कमेन्ट गर्नुहोस !